सहिद स्मारक‘ए’ डिभिजन लिग

एपिएफमाथि हिमालयन शेर्पाको रोमाञ्चक जित

फाइल फोटो

काठमाडौं । हिमलायन शेर्पा क्लबले सहिद स्मारक‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबमाथि ३-२ को रोमाञ्चक जित निकालेको छ ।

जितसँगै १९ खेलमा ६ जित, सात बराबरी र सात हारको नतिजासहित २५ अंक जोडेको हिमालयन सातौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको एपिएफ समान खेलबाट ६ जित, चार बराबरी र नौ हारको नतिजासहित २२ अंकका साथ १०औं स्थानमा झरेको छ । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा हिमालयनलाई जित दिलाउन खामिर गिल्सन, पिस्टोने मुटुम्बा र अबायोमी फकुन्लेले समान एक गोल गरे। एपिएफका लागि सनिश श्रेष्ठ र युवराज खड्काले समान एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा गिल्सनको गोलमार्फत हिमालयनले अग्रता लिएको थियो । १८औं मिनेटमा मुटुम्बाले टोलीको अग्रता दोब्बर बनाए ।

५१औं मिनेटमा फकुन्लेले गोल गर्दा हिमालयन ३-० ले अघि बढ्यो । खेलको अन्त्य तिर लगातार दुई गोल गर्दै एपिएफले खेलमा फर्किने संकेत गरे पनि त्यो पर्याप्त भने हुने सकेन ।

८७औं मिनेटमा सनिशले गोल गर्दा खेल ३-१ को अवस्थामा आयो । इन्जुरी समयमा युवराजले गोल गरेपछि खेल ३-२ को  स्थितीमा सकिएको हो ।

एपिएफविरुद्ध लिगमा हिमालयनले लिग डबल (दुवै लेगमा पराजित) गरेको छ। पहिलो लेगमा हिमालयन ५-३ ले विजयी भएको थियो ।