आइडब्लुएल

सावित्राको कीर्तिमानमा गोकुलमको फराकिलो जित

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले कीर्तिमान कायम गरेको खेलमा गोकुलम केरलाले इन्डियन वुमन्स लिगमा (आइडब्लुएल) मा बुधबार मुम्बई नाइट्स एफसीमाथि ११-१को फराकिलो जित निकाल्यो ।

जितसँगै समूह ‘ए’ को गोकुलम सात खेलमा १९ अंकका साथ शीर्ष कायम स्थानमा छ । पराजय ब्यहोरेको मुम्बइ समान खेलमा १० अंंका साथ पाँचौं स्थानमा छ ।

गोकुलकमलाई जित दिलाउन सावित्राले सात, सन्ध्या रंगनाथनले दुई तथा इन्दुमती कथिरेसन र असिम रोज देवीले समान एक गोल गरे । मुम्बईका लागि  भुमिका मानेले एक गोल फर्काइन् ।

सावित्राले आइडब्लुएलमा सर्वाधिक गोल गर्ने कीर्तिमान कायम गरेकी हुन् । लिगमा सावित्राको गोल संख्या ४३ पुगेको छ । उनले भारतीय खेलाडी बालादेवीको नाममा रहेको ३८ गोलको कीर्तिमान भङ्ग गरेकी हुन् ।  

सावित्राले ११, १६ ,३२, ३९ ,५५ र ८९ औं मिनेट तथा इन्जुरी समयमा गोल गरिन् । यसैगरी रंगनाथनले कथिरेसनले १५ र ५७ तथा कथिरेसनले १० र रोजा देवीले ६२ औं मिनेटमा गोल गरे । मुम्बईका लागि मानेले ४३औं मिनेटमा एक गोल फर्काइन् ।

जारी लिगमा छैटौं ह्याट्रिक पूरा गरेकी सावित्राको गोल संख्या २६ पुगेको छ ।