आइडब्लुएल

सावित्रा चम्किँदा गोकुलमको फराकिलो जित

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनप्रेरित गोकुलम केरेलाले इन्डियन वुमन्स लिगमा (आइडब्लुएल) मा पाँचौं जित निकालेको छ ।

मंगलबार भएको खेलमा साबिक विजेता गोकुलमले माता रुकमनी फुटबल क्लबलाई ९-० ले पराजित गरेको हो ।

जितसँगै समूह ‘ए’ को गोकुलम ६ खेलमा १६ अंकका साथ शीर्ष कायम स्थानमा छ । पराजय ब्यहोरेको रुकमनी समान खेलमा विना अंक सातौं स्थानमा छ । 

गोकुलमको जितमा सावित्रा चार गोल गरिन् । यसैगरी इन्दुमती कथिरेसनले दुई तथा सोरोखाबाम रन्जना चानु, हेमाम शिल्की देवी र डाङमइ ग्रेसले समान एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा चानुको गोलमार्फत गोकुलमले अग्रता लिएको थियो । सावित्राले सातौं र १२ औं मिनेटमा गोल गरिन् ।

 २० औं मिनेटमा ग्रेस, २७ औं मिनेटमा सिल्की देवी तथा ३५ औं मिनेट र पहिलो हाफको इन्ज्युरीमा इन्दुमतीले गोल गरेपछि गोकुलमले पहिलो हाफमै ७-० को फराकिलो अग्रता लिएको थियो ।

६८ औं मिनेटमा गोल गर्दै सावित्राले जारी लिगमा चौथो ह्याट्रिक पूरा गरेकी थिइन् । त्यसको एक मिनेटपछि नै सावित्राले अर्को गोल थपिन् ।

सावित्राले पूरा सयम खेलेकी थिइन् । लिगमा सर्वाधिक गोलकार्ताको सुचीमा अग्र स्थानमा रहेकी सावित्राको गोल संख्या १९ पुगेको छ ।

गोकुलमले अब शुक्रबार मुम्बई नाइट्सको सामना गर्नेछ ।