युरोपियन च्याम्पियन्स लिग

सिटी र रियालको बराबरी

लन्डन । केभिन डी ब्रुयनाको गोलमा म्यानचेस्टर सिटीले मंगलबार च्याम्पियन्स लिगको सेमिफाइनल पहिलो लेगमा रियाल मड्रिडसँग हारको संकट टारेको छ । 

रियालको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सिटीले १-१ को बराबरी खेलेको हो ।गत सिजन पनि यी दुई टोली सेमिफाइनलमा भिडेका थिए । जहाँ रियालले सिटीको यात्रामा पूर्णविराम लगाइदिएको थियो । 

३६औं मिनेटमा भिनिसियस जुनियरले गरेको गोलमा रियालले अग्रता लिएको थियो । ६७औं मिनेटमा डी ब्रुयनाले सिटीलाई खेलमा फर्काएका थिए । 

सिटी यस सिजन तेहेरो उपाधिको लक्ष्यमा रहेको छ । इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । 

रियालले भने गत साता मात्र कोपा डेल रे जितेको थियो । रियालको स्पेनिस ला लिगाको उपाधि रक्षा गर्ने लक्ष्यमा भने पूर्णविराम लागिसकेको छ ।

यी दुई टोलीले दोस्रो लेगमा आगामी बुधबार सिटीको घरेलु मैदान इत्तिहाद रंगशालामा हुनेछ ।