स्पेनिस ला लिगा

मेसी फर्काउन छलफलमा बार्सिलोना

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका उपाध्यक्ष राफयल युस्टेले लियोनल मेसीलाई क्लब फर्काउनको लागि सम्पर्क गरिरहेको बताएका छन् ।

३५ वर्षीय अर्जेन्टिनाका फरवार्ड मेसी बार्सिलोनाका सर्वाधिक गोलकर्ता हुन् ।  उनले  क्लबका लागि सात सय ७८ खेलमा ६ सय ७२ गोलगोल गरेका छन् । मेसीले  सन् २०२१ मा आर्थिक नियमका कारण क्याम्प नोउ छोडेका थिए ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र मेसीबिचको दुई वर्षको सम्झौता यस सिजनको अन्त्यसँगै सकिदैछ । मेसीले पिएसजीका लागि ६६ खेलमा २९ गोल गरेका छन् ।

दुई वर्षअघि बार्सिलोनासँग कम पारिश्रमिकमा नयाँ सम्झौताका लागि सहमत भएपनि नयाँ आर्थिक नियमका कारण क्लब मेसीलाई बेच्न बाध्य बनेको थियो ।

‘हामी सँधै मेसीलाई क्लबमै राख्ने पक्षमा थियौं तर रोक्न सकेनौं । मेसीलाई थाहा छ हामी उनको कती कदर गर्छौं,’ युस्टोले भने,‘हामी मेसी क्लबमा फर्किएको हेर्न चहान्छौं । त्यसका लागि निरन्तर सम्पर्कमा छौं ।’