खप्तड गोल्डकप

खप्तड गोल्डकपको उपाधिका लागि मनाङ र थ्री स्टार भिड्दै

काठमाडौं । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा आज ( शनिबार ) ‘ए’ डिभिजन लिगका दुई क्लब मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लब भिड्दै छन् ।

 फाइनल खेल धनगढी रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । मनाङ तेस्रो तथा थ्री स्टार पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छन् ।

मनाङले सेमिफाइनलमा क्यामरुनको एभिनियर क्लबलाई ६-० ले हराएको हो । यसअघि मनाङले दुई फाइनल खेल्दा दुवैमा जित हात पारेको थियो । उ पहिलो र पाँचौं संस्करण च्याम्पियन टोली हो ।

थ्री स्टारले सेमिफाइनलमा १० खेलाडीमा सिमित भएर पनि आयोजक सुदुरपश्चिम-११ स्पोर्टस क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएको थियो ।

यसअघि थ्री स्टार तेस्रो र चौथो संस्करणमा फाईनल पुगेर उपविजेतामा सिमित भएको थियो । थ्री स्टार तेस्रो प्रयासमा भने सफलता हात पार्ने योजनामा छ ।

फाइनलअघि धनगढीमा शुक्रबार भएको प्रि-म्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तानले उपाधि जित्नका लागि मैदान उत्रिने बताएका थिए ।

मनाङका कप्तान जीवन गुरुङले खप्तड गोल्डकपमा टोलीको लक्ष्य विगतको जस्तै उपाधि जित्नु रहेको बताए ।

‘हामी गत संस्करणको विजेता हौं। अहिलेसम्म दुई फाइनल खेल्दा दुवैमा जित निकालेका छौं,’ गुरुङले भने,‘यस पटक पनि त्यसलाई निरन्तरता दिँदै उपाधि रक्षा गर्ने लक्ष्य छ ।’

यसैगरी थ्री स्टारका कप्तान विक्रम लामाले विगतमा भएको गल्ती सुधार्दै उपाधि जित्ने बताएका छन् ।

‘यसअघि दुई वाट फाइनलमा चुकेका थियौं,‘विक्रमले भने‘,‘यस पटक पनि त्यसलाई दोहोर्याउन चाहदैनौं । विगतका गल्तीहरुलाई सुधार गर्दै हामी उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं ।’

प्रतियोगिताको विजेताले उपाधिसहित २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्  ।

विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५  हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।  प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ‘ए’ डिभिजन लिगका ६, दुई विदेशी, मोससलको बागमती युथ क्लब र आयोजक क्लब गरी १० टोली सहभागी थिए ।