‘सी’ डिभिजनको दोस्रो चरणमा १४ जिल्लाका २६ क्लब

काठमाडौं, (खेलाडी)-  सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट अन्तर्गत १४ जिल्लाका २६ क्लबले दोस्रो चरणमा स्थान बनाएका छन् । 

दोस्रो चरणमा सबैभन्दा धेरै काठमाडौंका सात टोलीले स्थान पक्का गरेका छन् । त्यस्तै भक्तपुरका चार, झापाका तीन, काभ्रे पलाञ्चोकका दुई क्लब दोस्रो चरणमा प्रवेश गरे । यसैगरी रसुवा, ललितपुर, बाजुरा, कैलाली, नवलपुर, रुपन्देही र सुर्खेतका एक÷एक क्लब दोस्रो चरणमा प्रवेश गरे । 

काठमाडौंबाट राजधानी युवा क्लब, अत्तरखेल युवा समाज, एमयुएफसी विजय चोक, नयाँपाटी युवा क्लब, संयुक्त नमुना युवा क्लब, वेस्ट काठमाडौं क्लब र सन्तोष फुटबल क्लब दोस्रो चरणमा प्रवेश गरेका छन् । 

भक्तपुरबाट दोस्रो चरणको टिकट काट्नेमा मध्यपुर जागरुक युवा क्लब, दिव्येश्वरी फुटबल क्लब, सत्य संसार र्याले फुटबल क्लब र भ्याली इगल्स छन् । 

झापाबाट सतासीधाम स्पोर्टिङ क्लब, समाज सेवा क्लब र रोलिङ क्लब धुलाबारी दोस्रो चरणमा प्रवेश गरे । 

काभ्रेका स्पोर्टस एकेडेमी साँगा र छोरंगन फुटबल क्लबले दोस्रो चरणको टिकट काटे । 

यसैगरी सुन्धारा युवा क्लब (रसुवा), नुवाकोट युनाइटेड फुटबल क्लब (नुवाकोट), रानीवन स्पोर्टस क्लब (बाजुरा), विराट सांग्रिला स्पोर्टिङ क्लब (मोरङ), हिमालय युवा क्लब (कैलाली), २८ बिघाह युवा क्लब (नवलपुर), बुद्ध भुमी फुटबल एकेडेमी (रुपन्देही), गोलबजार स्पोर्टस क्लब (सिरहा), इमाडोल युवा क्लब (ललितपुर) र आरसी ३२ (सुर्खेत) ले छनोटको दोस्रो चरणमा स्थान पक्का गरे । 

लिगको पहिलो चरणमा कुल ७८ क्लब सहभागी थिए । सहभागी टोलीलाई २६ समूहमा विभाजन गरिएको थियो । समूहको शिर्ष स्थानमा रहने टोलीले छनोटको दोस्रो चरणमा प्रवेश पाउने प्रावधान थियो ।