डम्वरसिं गुरुङ

पूर्व फुटबलर गुरुङको ७२ वर्षको उमेरमा निधन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य डम्वरसिं गुरुङको ७२ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

पोखरा ४ निवासी गुरुङको उपचारको क्रममा मनिपाल शिक्षण अस्पतालमा निधन भएको हो । मुटुमा समस्या देखिएलगतै उनलाई अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ । गुरुङ पाँच वर्ष यता उच्च रक्तचापबाट पिडित थिए ।

गुरुङको श्रीमती, एक छोरा र तिन छोरीहरु छन् । उनको अन्त्येष्टि शनिबार गर्ने तयारी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

बेलायती सेनाबाट सेवानिर्वित गुरुङ बेलायती सेनामा कार्यरत रहँदा नै नेपाली राष्ट्रिय टोलीबाट ओलम्पिक छनोटमा कुवेतविरुद्ध खेलेका थिए ।

गुरुङलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का तत्कालिन सदस्य सचिव स्व.शरद चन्द्र शाहले सन१९७४ मा नेपाली राष्ट्रिय फुटबल टोलीमा समावेश गराएका थिए ।

सन् १९८२ को एसियन गेम्समा पनि  नेपालको प्रतिनिधित्व गरेका गुरुङले आरसिटी क्लबबाट शीर्ष डिभिजन लिग खेलेका थिए ।  । गुरुङ एसियन फुटबल महासंघ (एएफसी) को यु-१६ एसियन कपमा पनि नेपाली राष्ट्रिय टोलीको सदस्य थिए ।

गुरुङले नेपालको यु-१७ फुटबल टोलीका साथै सहारा एकेडेमी र एपिएफ क्लबको पनि प्रशिक्षण सम्हालेका थिए ।