हामी फिनिसिङमा चुकिरहेका छौंः प्रशिक्षक न्यौपाने

फाइल फोटो

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका मुख्य प्रशिक्षक नविन न्यौपानेले टोली फिनिसिङमा चुकिरहेको बताएका छन् ।

‘हामी फिनिसिङमा चुकिरहेका छौं । अघिल्ला खेलहरुमा पनि पेनाल्टी पाउँदा गोलहरु निस्किएका थिए,’ न्यौपानेले बुधबार पोस्ट म्याच कन्फिरेन्समा भने,‘आजको खेलमा पनि हामीले मौका पाएका थियौं तर सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यौं । हाम्रो मिडफिल्डमा पनि समस्या देखिएको छ । अघिल्लो सिजनका केही महत्वपूर्ण खेलाडी अहिले छैनन् । यसले पनि टोलीको प्रदर्शनमा असर गरिहेको छ ।’

एपिएफ फुटबल क्लबका मुख्य प्रशिक्षक रत्नकाजी महर्जनले टोलीमा एकता रहेकाले नै जित निस्किएको बताएका छन् ।

‘सबैभन्दा ठुलो कुरा हाम्रो टोलीमा रहेको एकता हो । अघिल्लो सिजन राम्रो सुरुआत हुन नसकेकाले अहिले भने राम्रो गर्नुपर्छ भन्ने थियो । केटाहरु त्यसमा प्रतिवद्ध छन्,’ महजर्ननले भने,‘आज योजना अनुसारको प्रदर्शन हुन सक्यो तर फिनिसिङमा भने केही समस्या देखिएको छ । नयाँ खेलाडीले राम्रो गरिरहेका छन् । सकेसम्म हाम्रो लक्ष्य उपाधि जित्ने नै हो । तर कम्तीमा पनि शीर्ष तीनमा रहने लक्ष्य छ ।’

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत च्यासल रंगशालमा बुधबार सम्पन्न विभागीय डर्बीमा एपिएफलाई जित दिलाउन ३७ औं मिनेटमा मणीकुमार लामाले गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।

यो हारसँगै आर्मीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । यसअघि लिगमा आर्मी  पछिल्ला १६ खेलमा अपराजित थियो । अघिल्लो संस्करणमा अपराजित रहेको आर्मीले १३ खेल खेल्दा पाँच जित र आठ बराबरीको नतिजा निकालेको थियो ।