सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो विभागीय डर्बीमा एपिएफ विजयी, टुङ्गियो आर्मीको १६ खेलसम्मको अपराजित यात्रा

ललितपुर । साबिक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले स्तब्ध बनाउँदै नेपाल एपिएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ मा दोस्रो जित हासिल गरेको छ ।

यस जितसँगै एपिएफले चार खेलबाट सात अंक जाेडेको छ । पहिलो पराजय ब्यहोरेको आर्मीको समान खेलबाट पाँच अंक छ ।

यो हारसँगै आर्मीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । यसअघि लिगमा आर्मी  पछिल्ला १६ खेलमा अपराजित थियो । अघिल्लो संस्करणमा अपराजित रहेको आर्मीले १३ खेल खेल्दा पाँच जित र आठ बराबरीको नतिजा निकालेको थियो । 

च्यासलस्थित च्यासल मैदानमा सम्पन्न सिजनको पहिलो विभागीय डर्बीमा एपिएफलाई जित दिलाउन मिडफिल्डर मणीकुमार लामाले पहिलो हाफमा निर्णायक गोल गरे ।

खेलकाे ३७ औं मिनेटमा मणीले विपन श्रेष्ठको पासमा सुन्दर गोल गरेका थिए ।

यसबीच पहिलो हाफमा दुवै टोलीले केही अवसरहरु सृजना गरे पनि सदुपयोग भने गर्न सकेनन् ।

१२ औं मिनेटमा एपीएफका कप्तान नवीन लामाको फ्रिकिक क्रसमा सनिश श्रेष्ठलेको हेडर बाहिरिएको थियो ।

२८ औं मिनेटमा दिनेश हेन्जनको प्रहार एपिएफका गोलकिपर अन्जल श्रेष्ठले बचाउँदा आर्मी अग्रता लिनबाट चुकेको थियो ।

६४ औं मिनेटमा मणीको प्रहार बाहिरिँदा एपिएफले अग्रता दोब्बर बनाउने मौका गुमायो ।  ८६ औं मिनेटमा दिनेशको प्रहार अन्जलले बचाउँदा आर्मीले बराबरी गर्ने सुनौलो अवसर गुमायाे ।

इन्जुरी समयमा आर्मीले एपिएफलाई दबाबमा राखे पनि गोल भने गर्न सकेन । इन्जुरी समयमा दिनेशको प्रहार बाहिरिएको  थियो ।

यसअघि आर्मीले तीन खेलमा एक जित र दुई बराबरी खेलेको थियो । पहिलो खेलमा संकटासँग बराबरीमा रोकिएको आर्मीले दोस्रो खेलमा साबिक विजेता मछिन्द्रलाई हराउँदा तेस्रो खेलमा न्युरोड टिम (एनआरटी) सँग बराबरी खेलको थियो ।

एपिएफले भने तीन खेलमा समान जित,बराबरी र हारको नतिजा निकालेको थियो । थ्री स्टार क्लबमाथि जितसहित लिगमा सुखद सुरुआत गरेको एपिएफले दोस्रो खेलमा सातदोबाटोसँग पराजित भएको थियो । तेस्रो खेलमा एपीएफले जावलाखेल युथ क्लबसँग बराबरी खेलेको थियो ।