नेपाली फुटबल

चन्द्रपुर मेयर गोल्डकपः बेङ्खडी युवा क्लब सेमिफाइनलमा

चन्द्रपुर । महोत्तरीको बेङ्खडी युवा क्लब रौतहटको चन्द्रपुरमा जारी चन्द्रपुर मेयर गोल्डकप–२०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार चन्द्रपुरस्थित तुलसीलाल अमात्य स्मृति रंगशालामा सम्पन्न खेलमा जनज्योती स्पोर्ट्स क्लबलाई १–० ले पराजित गर्दै बेङ्खडी प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा निरबहादुर आलेले गरेको गोल नै बेङ्खडीको जितमा पर्याप्त बन्यो । खेलको ‘म्यान अफ दी म्याच’ समेत चुनिएका निरबहादुरले पाँच हजार रुपैयाँ पुरस्कार पाए ।

बेङ्खडीले अब फाइनल प्रवेशका लागि घरेलु टिम रौतहट–११ र नव जन जागृती युवा क्लबबीचको विजेतासँग खेल्नेछ ।

रौतहट जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा आठ टिमको सहभागिता छ । चैत चार गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, प्रतियोगिताको एक उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।