सहिद स्मारक ‘ए’ डिभिजन लिग

‘ए’ डिभिजन लिगः मछिन्द्र र एनआरटीले अंकको खाता खोले

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ अन्तर्गत आइतबार सम्पन्न खेलहरुमा गत संस्करणको च्याम्पियन मछिन्द्र क्लब र तेस्रो भएको न्यु रोड टिम(एनआरटी)ले पहिलो अंक जोडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ः३० बजे मछिन्द्रले मनाङ मर्स्याङ्दी क्लबसँग गोलरहित बराबरी खेल्यो । सोही समयमा च्यासलस्थित च्यासल रंगशालामा एनआरटी र साबिक उपविजेता, विभागीय टोली त्रिभुवन आर्मीको खेल ३–३ को रोमाञ्चक बराबरीमा टुंगियो ।

विमलको पुनरागमन, मछिन्द्रलाई पहिलो अंक

फरवार्ड विमल घर्ती मगरले पुनरागमन गरेको खेलमा मछिन्द्रले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा मनाङविरुद्ध अंक बाडेको छ ।

विमल, लिग अगाडी भएको केपी ओलि कप फुटबल प्रतियोगिताका दौरान घाइते भएका थिए ।

सातदोबाटोमा दुबै क्लबले केही अवसर सृजना गरेका थिए । तर गोल भने हुन सकेन ।

खेलको तेस्रो मिनेटमै पुजन उपरकोटीले पूर्व क्लब मनाङविरुद्ध प्रहार गरेको आक्रामक शर्टले दिशा लिन सकेन । त्यस्तै, खेलको सातौँ मिनेटमा मनाङका विशन गुरुङको प्रहालाई मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोकेका थिए ।

विशनको प्रहारलाई १८ औं मिनेटमा मछिन्द्र रक्षक उत्सव राईले रोके । २१ औँ मिनेटमा रञ्जित धिमालको कर्नरलाई मनाङका गोलकिपर दीप कार्कीले बचाए । २७ औँ रनदीप पौडेलको क्रस सिधै विशालको हातमा पुगेको थियो ।

५६ औं मिनेटमा रञ्जितको कर्नरलाई आशिषले ब्लक गर्दै करिमले रिवाउण्डमा प्रहार गरेको बललाई पुजनको हेडरमार्फत गोल पोस्ट नजिकैबाट बाहिरिएको थियो । ७१ औँ मिनेटमा रञ्जितको फ्रिकिक सिधै गोलकिपर दीपको हातमा पुगेको थियो ।

खेलमा मछिन्द्रका पुजन उपरकोटी म्यान अफ दि म्याच चुनिए ।

खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले पहिलो अंक एकदमै महत्वपूर्ण रहेको बताए ।

‘उपाधि जित्न गाह्रो त गाह्रो नै छ । तर, हाम्रो लक्ष्य उपाधि नै हो । अझै २३ खेल बाकी छ । यो एक अंकले ठूलो अर्थ राख्छ, ’ कटुवालले भने ।
उता मनाङका प्रशिक्षक किरण श्रेष्ठले भने मछिन्द्र जस्तो बलियो टोलीसँग एक अंक लिन पाउनु राम्रो कुरा रहेको प्रतिक्रिया दिए ।

बराबरीसँगै मनाङको भने तीन खेलमा पाँच अंक पुगेको छ  ।  

यसअघि मछिन्द्रले जावलाखेल युथ क्लबसँग ३–१ र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ३–१ को पराजय ब्यहोरेको थियो । मनाङले हिमालयन शेर्पासँग १–१ को बराबरी खेल्दा संकटा क्लबलाई १–० ले पराजित गरेको थियो ।

आर्मी र एनआरटीको रोमाञ्चक बराबरी
 

च्यासलमा आज एनआरटीले तीन गोल गर्यो, तर तीन अंक भने जोड्न सकेन ।

खेलको १५ औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । स्टेफन जुनियरले सुशान्त चौधरीलाई पेनाल्टी क्षेत्रमा पउल गरेपछि रेफ्री कविन व्यञ्जनकारले आर्मीलाई पेनाल्टीको अवसर प्रदान गरेका थिए ।

५२ औं मिनेटमा लालनुनजामाले  एनआरटीलाई १–१ को बराबरीमा ल्याए । ५७ औं मिनेटमा जिन एन्सर एमबोउमीले पेनाल्टीमार्फत गोल गर्दा एनआरटी २–१ ले अघि बढ्यो । विकास खवासले पेनाल्टी बक्समा कृतिश रत्न छुन्जुलाई  फाउल गरेपछि एनआरटीले पेनाल्टीको अवसर पाएको थियो ।

६२ औं मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई ३–१ को अग्रता दिलाएका थिए ।

६८ औं मिनेटमा आर्मीका सुदिल राईले गोल गरेपछि खेल ३–२ को स्थितिमा आएको थियो । ८६ औं मिनेटमा दिनेश हेन्जनले फ्रिकिकमार्फत गोल गर्दै आर्मीलाई ३–३ को बराबरीमा ल्याए ।

खेलमा दुई गोल गरेका लालनुनजामा म्यान अफ दि म्याच चुनिएका थिए ।

यस बारबरीसँगै एनआरटीले तीन खेलमा पहिलो अंक जोड्दा आर्मीको समान खेलबाट पाँच अंक छ ।

यसअघि संकटा क्लबसँग गोलरहित बराबरी खेलेको आर्मीले साबिक विजेता मछिन्द्रलाई २–० ले पराजित गरेको थियो ।

यसैगरी एनआरटीले सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबसँग समान २–१ को पराजय ब्यहारेको थियो ।