इङ्लिस प्रिमियर लिग

आर्सनलको सहज जित

काठमाडौं । लिग लिडर आर्सनलले इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा फुलहम फुटबल क्लबमाथि ३–० को सहज जित निकालेको छ ।

यस जितसँगै २७ खेलमा ६६ अंक जोडेको आर्सनलले शीर्ष स्थामा म्यानचेस्टर सिटीसँग पाँच अंकको दुरी बनाएको छ । पराजय ब्यहोरेको फुलहम समान खेलबाट ३९ अंकका साथ आठौं स्थानमा छ ।

फुलहमको घरेलु मैदान क्रभेन कटेजमा आर्सनललाई जित दिलाउन गाब्रियल मगेलहेस, गाब्रियल मार्टिनेली र कप्तान मार्टिन ओडेगार्डले गोल गरे । तीनै गोल पहिलो हाफमा भएको थियो ।

खेलको २१ औं मिनेटमा मगेलहेसको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । २६ औं मिनेटमा मार्टिनेलीले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा ओडेगार्ड आर्सनलका लागि तेस्रो गोल गरेका थिए । तीनै गोलका लागि लियान्द्रो ट्रोसार्डले अवसर सिर्जना गरेका थिए ।

लिग अन्तर्गत आइतबार नै सम्पन्न अन्य खेलमा म्यानेस्टर युनाइटेले  साउथह्यामटनसँग गोलरहित तथा वेस्टह्याम युनाइटेडले एस्टन भिल्लासँग १-१ को बराबरी खेलेका छन् ।