अखिल नेपाल फुटबल स‍घ

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक एनासीले लिए नियुक्ती पत्र

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्चेन्जो अल्बेर्टो एनासीले नियुक्ती पत्र लिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले बिहीबार एनासीलाई नियुक्ती पत्र प्रदान गरेका हुन् ।

बुधबार बसेको एन्फा कार्यसमिती बैठकले इटालीका एनासीलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।

पदपूर्ति समितिले सिफारिस गरेको अनुसार बैठकले एनासीलाई नियुक्ति गरेको हो ।

३८ वर्षीय अनुभवी प्रशिक्षक एनासीले यसअछि सन् २०१९ मा बेलिजको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण गरेका थिए ।

युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षकले भारतीय क्लब गोकुलम केरलालाई दुई पटक आई लिगको उपाधि दिलाएका थिए । उनले इन्डियन सुपर लिगमा नर्थ इस्ट युनाइटेडको टोली समेत सम्हालिसकेका छन् ।

विवादित छबी बनाएका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गत भदौमा राजिनामा दिए देखी नै एन्फा मुख्य प्रशिक्षकको खोजीमा थियो । नेपालले घरेलु मैदानमा बंगलादेश र पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि क्रमशः प्रदिप हुमागाई र सहिद स्मारक ए डिभिजन लिगको साबिकको विजेता मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई प्रशिक्षणको जिम्मेवारी दिएको थियो । दुवै खेलमा नेपालले सुखद नतिजा ल्याएको थियो ।

यसैगरी महासचिव राईले नवनियुक्त सहायक महासचिव दामोदर भट्टराईलाई पनि नियुक्ति पत्र प्रदान गरेका थिए ।