मैत्रीपूर्ण खेल

साबित्राको गोलमा नेपालको रोमाञ्चक बराबरी

काठमाडौं । स्ट्राइकर साबित्रा भण्डारीले दुई मिनेटको अन्तरमा दुई गोल गरेसँगै नेपालले बुधबार पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग हारको संकट टारेको छ । 

चेन्नईस्थित जवहारलाल नेहरु रंगशालामा नेपालले भारतसँग २-२ को बराबरी खेलेको हो ।

५६औं मिनेटमा सौम्याको गोलमा भारतले अग्रता लिएको थियो । ६८औं मिनेटमा इन्दुमतीले भारतको अग्रता दोब्बर पारेकी थिइन ।

९०औं मिनेटमा साबित्राको पेनाल्टीमा नेपालले खेलमा फर्कने संकेत गरेको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा साबित्राले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन ।

यी दुई टोली पछिल्लो पटक नेपालमा सम्पन्न साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आमने सामने भएका थिए । जहाँ नेपालले भारतलाई हराएको थियो । 

दुवै टोली ओलम्पिक छनोटको तयारीमा छन् । समूह सी मा रहेको नेपालले भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँग खेल्नेछ । नेपालले पहिलो खेल आगामी अप्रिलमा प्यालेस्टाइनसँग खेल्दै सुरुवात गर्नेछ ।

भारतले समूह जी मा तुर्केमिनिस्तान, कीर्गिस्तानसँग खेल्ने तालिका छ । समूहको शीर्षस्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।