इङ्लिस प्रिमियर लिग

मैदान बाहिरको कुरामा हामीलाई चासो छैनः रोड्री

लन्डन । इङलिस प्रिमियर लिग क्लबका मिडफिल्डर रोड्रीले म्यानचेस्टर सिटीको बारेमा मैदान बाहिर चलिरहेको हल्ला आफ्नो चासोको विषय नरहेको बताएका छन् ।

रोड्री एस्टोन भिल्लामाथि जित निकालेपछि खेल मैदान बाहिरको कुरामा चासोको नरहेको बताएका हुन् ।

प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एस्टोन भिल्लामाथि ३-१ को सहज जित निकालेको थियो ।

सिटीका लागि रोड्रीले खेलको चौथौ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।  इल्के गुन्डोगान ३९ औं मिनेटमा गोल गर्दै सिटीको अग्रतालाई दोब्बर बनाए । ४६ औं मिनेटमा रियाद महारेज सिटीको जितलाई पक्का गरेका थिए । एस्टोन भिल्लाका लागि ओल्ली वाट्किन्शले ६१ औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । 

सिटीले शिर्षस्थानमा रहेको आर्सनललाई तीन अंकले पछाइरहेको छ । बुधबार राति सिटीले प्रिमियर लिगको खेलमा आर्सनलको सामना गर्दैछ ।

‘हामी मैदान र फुटबलको बारेमा मात्र फुटबलको कुरा गर्छाै,’ रोड्रीले भने,‘मैदान बाहिर के हुन्छ त्यो हाम्रो मतलबको कुरा भएन ।’

बुधबार आर्सनलमाथि जित निकालेको खण्डमा लिगको शिर्षस्थानमा सिटी पुग्नेछ।  आर्सनलले शनिबार राति ब्रेन्फोर्डसँग १-१ को बराबरीमा राेकिएकाे थियो ।

‘हामीसँग शिर्ष स्थानमा उक्लने अवसर छ’,रोड्रीले भने,‘हामी के हौँ, त्यो आर्सनलसँगको खेलमा देखाउने छौँ । उनीहरु राम्रो खेल्छन् तर हामी पनि कमजोर छैनौं । आर्सनलसँगको खेल निक्कै रोमाञ्चक हुनेछ ।’

रोर्डीले यस सिजन सिटीका लागि २१ खेलमा दुई गोल र चार असिस्ट गरिसकेका छन् ।