जिनेदिन जिदान

जिदान फ्रेन्च राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न चाहन्थेः पिरेज

काठमाडौं । रियाल मड्रिडलाई लगातार तीन पटक युरोपेली फुटबल महासंघ(युइएफा) च्याम्पियन्स लिगको उपाधि जिताएका प्रशिक्षक जिनेदिन जिदान अहिले फुटबलका कुनै पनि गतिबिधीबाट टाढा छन् ।

सन् २०२१ मा मड्रिडको जिम्मेवारी छाडेयता जिदान कुनै पनि क्लबमा आवद्ध छैनन् ।

कतार विश्वकप २०२२ को फाइनलमा फ्रान्सले अर्जेन्टिनासँग पराजय बेहोरेपछि वर्तमान प्रशिक्षक डिडियर डेस्च्याम्पले राष्ट्रिय टोलीसँगको सम्झौता नविकरण गर्न संकोच मानेका थिए । त्यहीबेला जिदानले फ्रान्सको प्रशिक्षक बन्न इच्छा देखाएको उनका सहकर्मी तथा राष्ट्रिय टोलीका पूर्व खेलाडी रोबर्ट पिरेजले खुलाएका छन् । त्यो समयमा जिदानले ब्राजिलको प्रशिक्षक बन्न चाहेको कुरा पनि बाहिर आएको थियो ।

जिदान र ब्राजिलको कुरालाई लिएर फ्रान्स फुटबलमा ठूलै मुद्धा चलेको थियो । निवर्तमान फ्रेन्च फुटबल महासंघका अध्यक्ष नियोल लु ग्रेटले जिदानको अस्वीकार्य टिप्पणी गरेका थिए । जिदानमाथि गरेका टिप्पणीका कारण लु ग्रेटको निकौ आलोचना भएको थियो । जसको परिणम स्वरुप उनले गत महिना पदबाट राजिनामानै दिनु परेको थियो ।

उक्त घटनाको एक महिनापछि जिदानलाई ब्राजिल राष्ट्रिय फुटबल टोलीको नेतृत्व गर्न कुनै पनि रुची नभएको कुरा पिरेजले बताएका छन् ।

 

‘जिदान फ्रान्स फुटबल सम्हाल्न चाहन्थे । तर अब यो सम्भव छैन, किनभने डेस्च्याम्पले चार वर्षको नविकरण गरिसके,’ पिरेजले भने,‘अहिले भने जिदानले पुनः क्लबकै जिम्मेवारी सम्हाल्ने सोच बनाएका छन् । तर सबैले जिदानलाई भित्र्याउने क्षमता राख्दैनन् ।’

पिरेज र जिदान फ्रान्सले विश्वकप १९९८ र युरोपियन च्याम्पियनसिप(युरो) २००० जित्दा राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य थिए ।