कतार विश्वकप २०२२

अर्जेन्टिनाका दुई रक्षकले क्रोएसियाविरुद्धको सेमिफाइनल गुमाउने

दोहा । दोहोरो पहेँले कार्ड ब्यहोरेका कारण अर्जेन्टिनाका दुई रक्षक मार्कोस अकुना र गोञ्जालो मोन्टिएलले कतार विश्वकप २०२२ अन्तर्गत क्रोएसियाविरुद्धको सेमिफाइनल गुमाउने भएका छन ।

दुवैले क्वार्टरफाइनलमा नेदरल्यान्ड्विरुद्ध पहेँलो कार्ड ब्यहोरेका थिए । त्यसअघि समूह चरणमा  अकुनाले पोल्यान्ड तथा मोन्टिएलले मेक्सिको पहेँलो कार्ड ब्यहोरेका हुन ।

अर्जेन्टिनाले पहिलो सेमिफाइनलमा मंगलबार साबिकको उपविजेता क्रोएसियाको सामना गर्नेछ । यो खेल लुसेल स्टेडियममा नेपाली समयअुनसार राति १२ः४५ मा सुरु हुनेछ ।

क्वार्टरफाइनलमा जित निकाल्न दुवै टोलीले पेनाल्टी सुटआउटको साहरा लिनु परेको थियो । अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ४–३ तथा क्रोएसियाले ब्राजिललाई ४–२ ले हराउँदै सेमिफाइनलको टिकट काटेका हुन ।

दुई रक्षकले सेमिफाइनल गुमाउने भए पनि अर्जेन्टिनाका मिडफिल्डर एन्जल डि मारिया र रोड्रिगो डि पाउल भने फिट भएका छन ।