अर्जेन्टिनाविरुद्ध क्रोएसिया

लगातार दोस्रो फाइनलको लक्ष्यमा क्रोएसिया, मेसीलाई रोक्ने चुनौती

दोहा  । क्लब फुटबलमा सात वर्ष एकअर्काका प्रतिद्वन्द्वी रहेका रियाल मड्रिडका लुका मोड्रिच र बार्सिलोनाका पूर्व कप्तान लियोनल मेसी पुनः आमने सामने हुँदैछन् । कतार विश्वकप २०२२ को सेमिफाइनलमा आज राती यी दुई टोली भिड्दा सो खेलले २०१८ को रुस विश्वकपको समूह चराणको झल्को दिनेछ । 

सो खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो  । क्रोएसियाले क्वार्टरफाइनलमा उपाधिको प्रबल दाबेदार पाँच पटकको विश्व विजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो । क्रोएसिया फेरि पनि दक्षिण अमेरिकी प्रतिद्वन्द्वी अर्जेन्टिनालाई हराएर लगातार दोस्रो पटक फाइनल खेल्ने लक्ष्यमा हुनेछ । यता अर्जेन्टिना पनि मेसीको नेतृत्वमा दोस्रो फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । लुसेल आइकोनिक रंगशालामा आज  हुने पहिलो सेमिफाइनल नेपाली समय अनुसार राति १२ः४५ बजे हुनेछ ।

लियोनेल स्काेलोनीको अर्जेन्टिनाले पनि क्वार्टरफाइनलमा नेदरल्यान्डमाथि ४–३ को जित निकालेको थियो ।

मोड्रिच र मेसी दुवै विश्वकप जित्ने संघारमा रहे पनि उपाधि भने जित्न सकेनन । २०१८ मा क्रोएसिया फ्रान्ससँग फाइनलमा १–० ले निराश भएको थियो । अर्जेन्टिना २०१४ मा जर्मनीसँग १–० ले पराजित भएको थियो ।

मोड्रिच उमेरले ३७ पुगेका छन् । तर मैदानमा मोड्रिच अझै पनि उत्तिकै फुर्तिका साथ दौडिरहेका हुन्छन् । मिडफिल्डमा उनको उपस्थितिलाई कम आकलन गर्न मिल्दैन । मिडफिल्डमा मोड्रिचलाई मार्सेलो ब्रोजोभिच र माटियो कोभासिचले दरिलो साथ दिएका छन् ।

त्यस्तै ३५ वर्षे मेसीको खेल शैली पनि परिवर्तन भएको छ ।  जारी विश्वकप स्ट्राइकरको भूमिकामा देखिएका मेसीले चार गोल गरिसकेका छन् ।

विश्वकपमा अर्जेन्टिना कहिल्यै पनि सेमिफाइनलबा बाहिरिएको छैन । पछिल्लो पटक २०१४ मा अर्जेन्टिनाले सेमिफाइनलमा नेदरल्यान्ड्सलाई हराएको थियो । क्रोएसिया विश्वकपमा आफ्नो तेस्रो सेमिफाइनल खेल्दैछ । १९९८ मा क्रोएसिया सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो । रुस विश्वकपमा भने इङ्ल्यान्डलाई २–१ ले निराश पार्दै क्रोएसिया फाइनल पुगेको थियो ।

लुसेलमा गोलकिपरद्वय इमिलियानो मार्टिनेज र डोमिनिक लिभाकोभिचको भूमिका महत्वपूर्ण रहनेछ । नेदरल्यान्ड्सविरुद्ध मार्टिनेजले सुरुवाती दुई पेनाल्टी प्रहार बचाएका थिए । क्रोएसियाका लिभाकोभिकले अन्तिम १६ मा जापानविरुद्ध तीनवटा पेनाल्टी रोकेका थिए । त्यस्तै ब्राजिलविरुद्ध खेलका दौरान ११ बचाउ गरेका लिभाकोभिकले रोड्रिगोको पहिलो पेनाल्टी रोकेका थिए ।