फ्रान्स

मोरोक्कोविरुद्ध अनुभवको भरपुर प्रयोग गर्न लोरिसको आग्रह

दोहा । फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले कतार विश्वकप २०२२ को सेमिफाइनलमा मोरोक्कोको सामना गर्दा आफ्नो अनुभव र क्षमताको भरपुर प्रयोग गर्नुपर्ने बताएका छन् ।

सन् १९९८ मा साबिकको विजेता ब्राजिलले सेमिफाइनलमा स्थान बनाएको थियो । त्यसयता साबिक विजेताको हैसियतमा सेमिफाइनलमा स्थान बनाउने फ्रान्स पहिलो टोली हो ।

फ्रान्स विश्वकपको उपाधि रक्षासहित ब्राजिलको कीर्तिमानसँग बरारबरी गर्न चाहन्छ । साबिकको विजेताको रुपमा अहिलेसम्म ब्राजिलले मात्र विश्वकपको उपाधि रक्षा गरेको छ ।
लोरिस फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन् । उनले फ्रान्सबाट एक सय ४३ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यसअघि लिलियन थुरामको नाममा एक सय ४२ खेलको कीर्तिमान रहेको थियो ।

जारी विश्वकपका सबैभन्दा अप्रत्यासित नतिजा ल्याएको मोरोक्को शनिबार पोर्चुगललाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । समूह चरणमा क्रोएसियालाई बराबरीमा रोक्नुका साथै बेल्जियमलाई स्तब्ध पारेको  मोरोक्कोले अन्तिम १६ मा स्पेनलाई निराश पारेको थियो । त्यसैले पनि फ्रान्स मोरोक्कोलाई हल्का रुपमा लिने पक्षमा छैन ।
फ्रान्सले भने क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई हराएको थियो ।

‘हामी मोरोक्कोविरुद्धको खेलका लागि तयार छौ । मोरोक्को उत्कृष्ट टोली हो,’ लोरिसले भने, बेल्जियम, स्पेन र पोर्चुगलजस्ता उपाधि दाबेदारलाई निराश पारेको मोरोक्को उच्च मनोबलका साथ मैदान उत्रनेछ । उनीहरुमा युवा जोश छ । हामीले उनीहरुविरुद्ध आफ्नो अनुभव र क्षमता देखाउनु पर्छ ।'