नेइमार

हारबाट माथि उठ्न केही समय लाग्छः नेइमार

रियो दी जेनेरियो । ब्राजिलका स्टार नेइमारले  कतार विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिनु आफ्ना लागि खेलजीवनकै सबैभन्दा दुखद क्षण भएको र त्यसबाट माथि उठ्न केही समय लाग्ने बताएका छन् । 

शुक्रबार क्रोएसियासँग  पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएसँगै उपाधि दाबेदार ब्राजिलको कतार भ्रमणमा पूर्णविराम लागेको थियो ।

‘म त्यो हारबाट अझै माथि उठ्न सकेको छैन’, नेइमारले आइतबार ब्राजिल  फर्किएपछि भने, ‘हामीले समर्थकको अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेनौ । यद्धपी यो मेरो खेलजीवनको अन्तिम खेल होइन । हामी यस हारबाट पाठ सिक्दै अघि बढ्नु सबैका लागि राम्रो हुनेछ । मैले हिम्मत हारेको छैन । ’

त्यस्तै नेइमारले टिटे आफ्ना लागि अहिलेसम्मकै उत्कृष्ट प्रशिक्षक भएको र उनीबाट धेरै कुरा सिकेको पनि बताए ।

‘यो हारसँगै तपाई टोलीबाट अलग हुनुभयो,’नेइमारले भने, ‘तर तपाईले हामीलाई धेरै कुराहरु सिकाउनु भयो । हामी तपाईको योगदानप्रति आभारी छौ ।’