नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडी तथा अफिसियल सम्मानित

काठमाडौ । नेपाल प्रहरीले आइतबार संगठनमा आवद्ध रहेर ‘नवौं राष्ट्रिय खेलकुद २०७९’ मा पदक विजेता, नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल खेलाडीहरू तथा अफिसियलहरुलाई नगदसहित सम्मान गरेको छ । 
 

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलले विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरु तथा अफिसियलहरुलाई सम्मान गरेका हुन् ।  २०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा संचालित प्रतियोगितामा नेपाल प्रहरीले ६१ स्वर्ण, ६१ रजत र ७२ कास्य गरी कुल एक सय ९४ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको थियो । 
 

विजेता खेलाडीहरुलाई सम्मान स्वरुप व्यक्तिगत इभेन्टमा स्वर्ण पदक विजेतालाई १० हजार रुपैयाँ, रजत पदक विजेतालाई ७ हजार रुपैयाँ र कास्य पदक विजेतालाई ५ हजार रुपैयाँ तथा टिम इभेन्टतर्फ स्वर्ण पदक विजेतालाई ७ हजार रुपैयाँ, रजत पदक विजेतालाई ५ हजार रुपैयाँ र कास्य पदक विजेतालाई ३ हजार रूपैयाँ प्रदान गरिएको छ ।

यसैगरी विभिन्न खेलमा राष्ट्रिय कीर्तिमान राख्न सफल आठ जना खेलाडीलाई जनही थप  ५ हजार रुपैयाँ प्रदान गरियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तारादेवी पुन, विकास थापा, मुई लामा, जुनुमाया छन्त्याल,विद्या राई, विशाल सिंह विष्ट,सन्देश गुरूङ र चन्द्रकला लाम्गादेले विभिन्न खेलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका थिए ।

प्रतियोगितामा नेपाल प्रहरीकोतर्फबाट २९ खेलमा १९८ महिला र २९७ पुरुष गरी चार सय ९५ खेलाडी तथा ९२ जना अफिसियलसहित कूल पाँच सय ८७ जनाको सहभागिता थियो ।