कतार विश्वकप २०२२

रेफ्रीको निर्णयप्रति बेलिङघम र मग्वायरको असन्तुष्टि

दोहा । इङ्ल्यान्ड कतार विश्वकप २०२२ को क्वार्टरफाइनलबाटै बाहिरिएपछि टोलीका मिडफिल्डर जुड बेलिङघम र रक्षक ह्यारी मग्वायरले ब्राजिलियन रेफ्री विल्टर साम्पायो विश्वकपको ठुलो खेलका  लागि लायक नरहेको बताएका छन् ।

शनिबार राति सम्पन्न खेलमा साबिकको विजेता फ्रान्ससँग २–१ ले पराजित भएपछि इङ्ल्यान्ड बाहिरिएको थियो । 
 ‘मलाई थाहा छ विश्वकप खेलाउन त्यती सहज छैन तर साम्पायो यती ठुलो खेल खेलाउनका लागि तयार छैनन् भन्ने सुरु देखि नै महसुस भएको थियो,’ बेलिङघमले भने‘ पहिलो हाफमा पेनाल्टी क्षेत्र नजिकै केही यस्ता फउल भएका थिए जसले खेलको रुप बदल्न सक्थ्यो तर साम्पायोले त्यसलाई वास्ता गरेनन् ।’

‘खेलमा यस्ता केहि खराब फउल भएका थिए तर साम्पायोले पहेँलो कार्ड देखाएनन् । म रेफ्रीको निर्णयप्रति सन्तुष्ट छैन’,मग्वायरले भने‘साम्पायोको निर्णय कती खराब थियो भनेर वर्णन गर्न सक्दिन ।’

बुकायो साकामाथि ट्याकल भए पनि रेफ्रीले फउल नदिएपछि फ्रान्सले पहिलो गोल गरेको थियो । त्यस्तै कप्तान ह्यारी केनले गोल गर्न नसकेको दोस्रो पेनाल्टीका लागि पनि भिएआरको सहायता लिनु परेको थियो ।

 यसअघि पोर्चुगलका रक्षक पेपे र अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले पनि रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएका थिए ।