लुईस भान हाल

भान हालको राजिनामा

 

दोहा । नेदरल्यान्ड्सका प्रशिक्षक लुईस भान हालले राजिनामा दिएका छन् ।

नेदरल्यान्ड्स शुक्रबार राति पेनाल्टी सुट आउटमा अर्जेन्टिनासँग पराजित हुँदै कतार विश्वकप २०२२ को क्वर्टरफाइनलबाटै बाहिरिएपछि हालले जिम्मेवारीबाट अलग हुने निर्णय लिएका   हुन् ।

भान हालले गत वर्ष तेस्रो कार्यकालका रुपमा नेदरल्यान्डसको टोली सम्हालेका थिए । ७१ वर्षीय भान हालको प्रशिक्षणमा नेदरल्यान्ड्स २० खेलसम्म अपराजित रहेको थियो ।

‘मेरो प्रशिक्षणमा टोलीको प्रदर्शन उत्कृष्ट रह्यो । हामीले २० खेलसम्मको अपराजित यात्र तय गर्न सफल भयौं’,भान हालले भने‘अर्जेन्टिनाविरुद्ध पनि राम्रो खेलका थियौं । खेलाडीको प्रदर्शनप्रती कुनै गुनासो छैन । पेनाल्टीमा भाग्यले साथ दिएन ।’

क्वार्टरफाइनलमा अर्जेन्टिनासँग २–० ले पछि परे पनि उत्कृष्ट पुनरागमन गर्दै नेदरल्यान्ड्सले २–२ को बराबरीमा ल्याउँदै खेललाई पेनाल्टी सुटआउटसम्म लम्बाएको थियो ।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनका गोलरक्षक इमिलियानो मार्टिनेजले दुई प्रहार बचाउ गरेपछि नेदरल्यान्ड्स ४–३ ले पराजित हुँदै बाहिरिएको हो ।