कतार विश्वकप २०२२

पहिलो हाफमा अर्जेन्टिना एक गोलले अगाडि

काठमाडौं । नाहुइल मोलिनाको गोलमा दुई पटकको पूर्व च्याम्पियन अर्जेन्टिनाले कतार विश्वकप २०२२ अन्तर्गत शुक्रबार नेदरल्यान्ड्सविरुद्धको क्वार्टरफाइनलमा पहिलो हाफसम्म १-० को अग्रता लिएको छ ।

६ पटकका बालन डी’अर विजेता कप्तान लियोनेल मेसीको जादुमय पासलाई मोलिनाले मध्यान्तर हुन ९ मिनेट बाँकी रहँदा गोलमा परिणत गरेका थिए । मेसीले ६ विपक्षी रक्षकहरुको भिडमा दिएको सुन्दर पासलाई मोलिनाले लुसाइल रंगशालामा गोलमा परिणत गरेका थिए । मोलिनाको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

जारी विश्वकपमा नेदरल्यान्ड्सले पहिला गोल खाएको यो पहिलो खेल हो । समूह चरणमा कतार र सेनेगलमाथि २-० को जित हासिल गरेको टोलीले इक्वेडरसँग १-१ को बराबरी खेल्दा पनि पहिला आफैले अग्रता लिएको थियो । अन्तिम १६ मा अमेरिकामाथि ३-१ को जित हासिल गर्दा डच टोलीले पहिलो हाफमै २-० को अग्रता लिएको थियो ।

अर्जेन्टिनाले भने पहिलो खेलमा साउदी अरेबियासँग २-१ को नतिजामा स्तब्ध भएपछि प्रतियोगितामा शानदार पुनरागमन जनाएको छ । समूहका पछिल्ला दुई खेलमा मेक्सिको र पोल्यान्डविरुद्ध २-० को समान विजयी नतिजा निकालेको टोलीले अन्तिम १६ मा अस्ट्रेलियालाई २-१ को नतिजामा हराएको थियो ।

यो खेलको विजेताले बुधबार अल बायात रंगशालामा हुने सेमिफाइनलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । क्रोएसियाले शुक्रबारै चाँडोगरि सम्पन्न क्वार्टरफाइनलमा पाँच पटकको पूर्व च्याम्पियन ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।