कतार विश्वकप २०२२

क्रोएसिया सेमिफाइनलमा

काठमाडौं । गोलकिपर डोमिनिक लिभाकोभिचले लगातार दोस्रो पेनाल्टी सुटआउटमा नायकको भूमिका निर्वाह गरेपछि चार वर्षअघि रुसमा सम्पन्न पछिल्लो संस्करणको उपविजेता क्रोएसियाले शुक्रबार कतार विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

पेनाल्टी सुटआउटमा लिभाकोभिचले एक विपक्षी प्रहार जोगाएपछि क्रोएसिया पाँच पटकको पूर्व विजेता ब्राजिललाई ४-२ को नतिजामा हराउँदै अन्तिम चार पुग्न सफल भयो ।

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको खेलको अतिरिक्त समयमा दुवै टोलीले एक-एक गोल गरेपछि टाई ब्रेकरमा पुगेको खेलमा लिभाकोभिचले ब्राजिलका रोडरिगोले प्रहार गरेको पेनाल्टी जोगाएका थिए ।

पेनाल्टी सुटआउटमा ब्राजिलका तर्फबाट मार्किन्होले प्रहार गरेको चौथो प्रहार पनि असफल भएपछि अन्तिम प्रहार अगाडि नै क्रोएसियाले बाजी मारेको थियो । माकिन्होको प्रहार पोलमा लागेर फर्किएको थियो । त्यसबीचमा कासेमिरो र पेड्रोले भने ब्राजिलका लागि गोल गरेका थिए ।

क्रोएसियाका तर्फबाट निकोला भ्लासिच, लेभ्रो मायर, कप्तान लुका मोडरिच र मिस्लाभ ओर्सिचले पेनाल्टीमा गोल गरेका थिए ।

त्यसअघि नाटकीय बनेको अतिरिक्त समयमा वैकल्पिक खेलाडी मिस्लाभ ओर्सिचको पासमा अर्का वैकल्पिक खेलाडी ब्रुनो पेट्कोभिचले अन्तिम सिठी बज्न तीन मिनेट बाँकी रहँदा गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

त्यसअघि अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

आधा दर्जनभन्दा बढि खतरनाक प्रयासमा विपक्षी गोलकिपर डोमिनिक लिभाकोभिच बाधक बनिसकेपछि अन्तत नेयमारले रोड्रिगो र एन्टोनीसँग वान टु वान पास खेल्दै विपक्षी पेनाल्टी बक्सभित्र बल छिराएपछि लिभाकोभिचलाई समेत छलाउँदै गोल गरेका थिए । ब्राजिलका लागि नेयमारको यो ७७औं अन्तर्राष्ट्रिय गोल हो ।

त्यसअघि निर्धारित समयमा लिभाकोभिचले आधा दर्जनभन्दा बढि विपक्षी प्रहार जोगाएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

बुधबार अल बायात रंगशालामा हुने सेमिफाइनलमा क्रोएसियाले युरोपेली प्रतिद्धन्द्धी नेदरल्यान्ड्स वा दक्षिण अमेरिकाको अर्जेन्टिनामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।

दुई पटकको पूर्व विजेता अर्जेन्टिना र २०१० को उपविजेता नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल आजै राति १२ः४५ बजे लुसाइल रंगशालामा हुनेछ ।

ब्राजिल एकपक्षीय रुपमा हावी भएको खेलको निर्धारित समयमा लिभाकोभिचले नेयमारका चार खतरनाक प्रहार जोगाएका थिए । साथमा उनले युवा फरवार्ड भिनिसियर जुनियर, रिचार्लिसन र माकिन्होलाई पनि निराश पारेका थिए ।

ब्राजिलले खेलमा डेढ दर्जनभन्दा बढि पटक आक्रमण गर्दा १० वटा प्रहार पोस्टलक्षित थिए । क्रोएसियाले भने खेलमा जम्मा ९ पटक आक्रमण गरेको थियो । जसमध्ये तीन प्रहार मात्र विपक्षीको पोष्टभित्र थियो ।

कतारको दोहास्थित एजुकेसन सिटी रंगशालामा अतिरिक्त समयमा नेयमारले गोल गरेपछि ब्राजिल लगातार दोस्रो पटक विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिनु नपर्ने संकेत मिलेको थियो । तर पेट्कोभिचले गोल गरेपछि खेल नाटकीय मोडमा पुग्यो । 

जारी विश्वकपमा अतिरिक्त समय हुँदै टाई ब्रेकरसम्म पुगेको यो तेस्रो खेल हो । यसअघि अन्तिम १६ मा मोरक्कोले स्पेन तथा जापानलाई क्रोएसियाले पेनाल्टी सुटआउटमा पराजित गरेका थिए । अन्तिम १६ मा जापानमाथि बाजी मार्दा पनि लिभाकोभिचले तीन विपक्षी पेनाल्टी जोगाएका थिए ।

चार वर्षअघि रुसमा सम्पन्न विश्वकपको पछिल्लो संस्करणमा ब्राजिल अन्तिम आठमा बेल्जियमसँग २-१ को नतिजामा पराजित हुँदै बाहिरिएको थियो । क्रोएसिया भने फाइनलमा फ्रान्ससँग ४-२ ले पराजित भएको थियो ।