कतार विश्वकप २०२२

ब्राजिल र क्रोएसियाको खेल अतिरिक्त समयमा

काठमाडौं । क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले आधा दर्जनभन्दा बढि विपक्षी प्रहार जोगाएपछि गत संस्करणको उपविजेता टोलीले उपाधि दाबेदार ब्राजिललाई निर्धारित समयसम्म गोलरहित बराबरीमा रोकेको छ ।

ब्राजिल एकपक्षीय रुपमा हावी भएको खेलमा लिभाकोभिचले नेयमारका चार खतरनाक प्रहार जोगाएका थिए । साथमा उनले युवा फरवार्ड भिनिसियर जुनियर, रिचार्लिसन र माकिन्होलाई पनि निराश पारे ।

कतार विश्वकप २०२२ को अन्तिम चार पुग्ने प्रतिस्पर्धामा पाँच पटकको विश्व विजेता ब्राजिलले अब अतिरिक्त समयको संघर्ष गर्नुपर्ने भएको छ ।

कतारको दोहास्थित एजुकेसन सिटी रंगशालामा जारी खेलको रोमाञ्चक ९० मिनेटमा क्रोएसियाले पनि गोलका लागि केही सुन्दर मुभ सिर्जना गरेको थियो । तर, टोलीका तर्फबाट इभान पेरिसिच, लुका मोडरिच र आन्द्रेज क्रामारिचका प्रयास गोलमा परिणत हुन सकेनन् ।