कतार विश्वकप २०२२

ब्राजिलको विश्वकप यात्रा समाप्त, अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल अतिरिक्त समयमा

काठमाडौं । वेइग वेगहर्स्टले दुई गोल गरेपछि अत्यन्तै तनावपूर्ण खेलको निर्धारित समयमा नेदरल्यान्ड्सले दुई पटकको पूर्व विजेता अर्जेन्टिनासँग २-२ को बराबरी नतिजा निकालेको छ ।

बराबरीसँगै खेल अतिरिक्त समयमा धकेलिएको छ । कतारको दोहास्थित लुसाइल रंगशालामा दुवै हाफमा एक-एक गोल गर्दै लियोनेल मेसीको अर्जेन्टिनाले क्रोएसियाविरुद्धको सेमिफाइनलमा स्थान सुरक्षित गर्ने संकेत गरेको थियो ।

कप्तान लियोनेल मेसीले फेरि एकपटक नायकको भूमिका निर्वाह गर्ने क्रममा एक गोल आफै गर्नुका साथै अर्को गोलको अवसर सिर्जना गरेपछि अर्जेन्टिना ८३ मिनेटसम्म पनि खेलमा अगाडि थियो । तर अन्तिम समयमा वेगहर्स्टले दुई गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलियो ।

मेसीको जादुमय पासलाई गोलमा परिणत गर्दै नाहुइल मोलिनाले पहिलो हाफमा दक्षिण अमेरिकी टोलीलाई अग्रता दिलाएका थिए । ६ पटकका बालन डी’अर विजेता मेसीले मध्यान्तर हुन ९ मिनेट बाँकी रहँदा ६ विपक्षी रक्षकहरुको भिडमा दिएको सुन्दर पासलाई मोलिनाले गोलमा परिणत गरेका थिए । मोलिनाको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

दोस्रो हाफमा प्राप्त पेनाल्टीलाई मेसी आफैले गोलमा परिणत गर्दै अर्जेन्टिनालाई सहज अवस्थामा पुर्याएका थिए । मार्कुस एकेनालाई नेदरल्यान्ड्सका डेन्जल डम्फ्रिसले लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । जसलाई मेसीले वाँया खुट्टाले प्रहार गर्दा डच गोलकिपर आन्द्रियास नपोर्ट मुकदर्शक भए ।

समय सकिन सात मिनेट बाँकी रहँदा नेदरल्यान्ड्सले दुई बैकल्पिक खेलाडीको तालमेलमा एक गोल फर्कायो । स्टेभन बर्गहाउसको क्रसमा वेगहर्स्टले गोल गर्दै नेदरल्यान्ड्सको खेलमा फर्किने आशा जीवित राखेका थिए ।

समय सकिन एक मिनेट बाँकी रहँदा नाथान एकेमाथि खराब फाउल गरेवापत अर्जेन्टिनाका लियोनार्दो परेड्सले पहेलो कार्ड सामना गरे । उनले कडा ट्याकल गरिसकेपछि पनि बल क्लियर गर्ने क्रममा नियतवश नेदरल्यान्ड्सको प्लेयर बक्समा कडा प्रहार गरेका थिए । जसको प्रतिक्रियास्वरुप प्लेयर बक्सबाट आएर आक्रोसित डच खेलाडीले उनीमाथि हातपात गर्न खोजेका थिए । जसका कारण खेल केहीबेर रोकिएको थियो ।

तर स्पेनिस रेफ्री एन्टोनियो माटिउ लाहोजले परेड्स र हातपातमा उत्रिएका डच कप्तान भर्जिल भान डाइकलाई पहेलो कार्ड देखाएर माहोल साम्य पारे ।

अचानक तनावपूर्ण बनेको खेलमा रेफ्री लाहोजले १० वटा पहेलो कार्ड देखाएका थिए । जहाँ दुवै टोलीका पाँच-पाँच चार खेलाडीले कार्ड सामना गरेका थिए । पहेलो कार्ड सामना गर्नेमा अर्जेन्टिनी कप्तान मेसी पनि थिए ।

अर्जेन्टिना जितको बाटोमा लम्किइसकेको थियो । तर १० मिनेट थप गरिएको इन्जुरी समयको अन्तिम मिनेटमा थियुन कुपमिनर्सको फ्रिकिकलाई पेनाल्टी बक्सभित्र राम्ररी नियन्त्रणमा लिएर उत्कृष्ट टर्न गर्दै वेगहर्स्टले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

जारी विश्वकपमा नेदरल्यान्ड्सले पहिला गोल खाएको यो पहिलो खेल हो । समूह चरणमा कतार र सेनेगलमाथि २-० को जित हासिल गरेको टोलीले इक्वेडरसँग १-१ को बराबरी खेल्दा पनि पहिला आफैले अग्रता लिएको थियो । अन्तिम १६ मा अमेरिकामाथि ३-१ को जित हासिल गर्दा डच टोलीले पहिलो हाफमै २-० को अग्रता लिएको थियो ।

अर्जेन्टिनाले भने पहिलो खेलमा साउदी अरेबियासँग २-१ को नतिजामा स्तब्ध भएपछि प्रतियोगितामा शानदार पुनरागमन जनाएको छ । समूहका पछिल्ला दुई खेलमा मेक्सिको र पोल्यान्डविरुद्ध २-० को समान विजयी नतिजा निकालेको टोलीले अन्तिम १६ मा अस्ट्रेलियालाई २-१ को नतिजामा हराएको थियो ।

यो खेलको विजेताले बुधबार अल बायात रंगशालामा हुने सेमिफाइनलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । क्रोएसियाले शुक्रबारै चाँडोगरि सम्पन्न क्वार्टरफाइनलमा पाँच पटकको पूर्व च्याम्पियन ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।