महिला ट्वान्टी २० विश्व कप

भारत र बंगलादेशको लगातार दोस्रो जित

काठमाडाैं । भारत र बंगलादेशले आइसिसी महिला यु-१९ टी २० विश्वकपमा लगातार दोस्रो जित निकालेका छन् ।

समूह ‘डी’अन्तर्गत विलोमुरे पार्कमा सोमबार सम्पन्न खेलमा भारतले युएईलाई एक सय २२ रनले पराजित गरेको हो ।

यस जितसँगै भारतले दुई खेलमा चार अंक जोड्दा पहिलो पराजय ब्यहोरेको युएईको सामना खेलबाट दुई अंक छ । भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई साता विकेट तथा युएईले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेका थिए ।

भारतले प्रस्तुत गरेको दुई सय २० रनको लक्ष्य पछ्याएको युएईले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो ।

युएइका लागि महिका गौरले सर्वाधिक २६ रनको योगदान दिइन् । यसैगरी लाभन्या केनीले २४ र कप्तान तिर्था सतिशले १६ रन बनाए ।

भारतका लागि पर्शभी चोपडा, सबनम एमडी, तितास साधु र मन्नत काश्यपले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय १९ रनको योगफल तयार पारेको थियो । 

भारतका लागि कप्तान सफाली वर्माले ३४ बलमा १२ चौका र चार छक्का मद्दतमा सर्वाधिक ७८ रन जोड्नि । यसैगरी स्वेता शेरावतले ४० बलमा १० चौका मद्दतमा अविजि ७४ र ऋचा घोषले ४९ रन बनाए ।

युएईका लागि इन्दुजा नन्दकुमार,महिका गौर र समाइरा धरणिधर्काले समान एक विकेट लिए ।

समूह ‘ए’अन्तर्गत विलोमुरे पार्कको दोस्रो मैदान सोमबार सम्पन्न खेलमा बंगालेशले श्रीलंकालाई १० रनले पराजित गरेको हो ।

यस जितसँगै बंगलादेशले दुई खेलमा चार अंक जोड्दा पहिलो पराजय ब्यहोरेको श्रीलंकको समान खेलबाट दुई अंक छ । पहिलो खेलमा बंगलादेशले अस्ट्रेलिया तथा श्रीलंकाले अमेरिकालाई समान सात विकेटले पराजित गरेका थिए ।

बंगलादेशले प्रस्तुत गरेको एक सय ६६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५५ रन बनायो ।

श्रीलंकका लागि कप्तान विष्मी गुणारत्नेले ५४ बलमा आठ चौका र एक छक्का मद्दतमा  अविजित ६० तथा दिवमी दिहन्गाले ४४ बलमा सात चौका र दुई छक्का मद्तका ५५ रन बनाए पनि टोलीलाई जित दिलाउन भने सकेनन् । 
 

बंगलादेशका मारुफा अख्तरले दुई तथा दिशा विश्वासले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा  दुई विकेट गुमाउँदै एक सय ६५ रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि  अफिया पोर्ताशाले ४३ बलमा पाँच चौका र तीन छक्का मद्दतमा सर्वाधिक ५३ रन जोडिन् । यसैगरी स्वर्णा अख्तरले  २८ बलमा तीन चौका र दुई छक्का मद्दतमा ५०, दिलारा अख्तरले अविसिजत ३६ र मिस्त्य शाहले १४ रन बनाए ।

श्रीलंकका लागि रश्मी नेत्राञ्जलीले एक विकेट लिइन् ।