प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिता

सुदूरपश्चिमले बागमतीलाई हरायो

फाइल फोटो

काठमाडौं । कविता कुँवरको अर्धशतकप्रेरित सूदुरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

सुदूरपश्चिमले इटहरीको जनता क्रिकेट पार्कमा शुक्रबार सम्पन्न दोस्रो खेलमा बागमती प्रदेशलाई ३३ रनले पराजित गरेको हो  ।

यस जितसँगै समूह ‘ए’ को सुदूरपश्चिमले दुई अंक जोड्दा बागमतीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

सुदूरपश्चिमले प्रस्तुत गरेको एक सय २८ रनको लक्ष्य पछ्याएको बागमतीले  २० ओभर नै ब्याटिङ गरे पनि  सात विकेट गुमाउँदै  ९४ रन मात्र बनाउन सक्यो ।

बागमतीका लागि कञ्चन श्रेष्ठले सर्वाधिक १६ रनको योगदान दिइन् । यसैगरी सोनी पाख्रिनले १५, खुसी डंगोलले १४ तथा कप्तान अस्मिना कर्माचार्यले  १३ रन बनाए ।

सुदूरपश्चिमाका लागि मनिषा चौधरी र ऋतु कनोजियाले समान दुई तथा इश्वरी विष्टले एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमाले निर्धारित २० ओभरमा  पाँच विकेट गुमाउँदै एक सय २७ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमाका लागि  कविताले ५२ बलम ६ चौका र एक छक्का मद्दतमा सर्वाधिक ५० रन जोडिन् । यसैगरी ऋतु कनोजियाले अविजित २७ तथा कप्तान विन्दु रावल र सम्झना खड्काले समान १० रन बनाए ।

पाँचौ विकेटका लागि कविता र ऋतुले ७८ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

बागमतीका लागि अस्मिना कर्माचार्यले दुई तथा यासु पाण्डे,खुसी डंगोल र मनिषा उपाध्यायले सामन विकेट लिए ।

शुक्रबार नै सम्पन्न पहिलो खेलमा प्रदेश १ ले मधेस प्रदेशलाई नौ विकेटले हराउँदै विजयी सुरुआत गरेको थियो ।