सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप

सहज जितसहित एपिएफ सेमिफाइनलमा

फाइल फोटो

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिपफाइनलमा स्थान सुरक्षित गरेको छ ।

एपिएफले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

एपिएफले खेल २५–१४,२५–१९ र २५–२० ले आफ्नो पक्षमा पारेको हो।

एपिएफले समूह ‘बी’ को विजेता तथा केशबलालले समूह ‘डी’उपविजेता रुपमा क्वार्टरफाइनलमा स्थान बनाएका थिए।

शुक्रबार नै सम्पन्न पहिलो क्वार्टरफाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई २५–२२,२१–२५,२५–१० र २६–२४ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।