सन्दीप लामिछाने

धरौटी बुझाएर रिहा भए सन्दीप

फाइल फोटो

काठमाडौं । बालात्काको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछाने  रिहा भ भएका छन् ।

सन्दीप शुक्रबार उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर  रिहा भएका हुन् । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो ।

न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको थियो   ।

लामिछानेलाई धरौटीमा छाड्न अदालतले ५ वटा सर्त राखेको छ । ती सर्त उलंघन भएको अवस्थामा पुर्पक्षका क्रममा धरौटी माग गर्ने आदेश स्वतः निष्कृय हुने भनिएको छ ।

नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

कार्तिक १८ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । पीडित नाबालिगले भदौ २१ गते प्रहरी बृत गौशालामा जाहेरी दिएकी थिइन् । प्रहरीले आत्मासमर्पण गरेका सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।