नेपाल टी–२० लिग

जनकपुरको सुखद सुरुआत

काठमाडौं । जनकपुर रोयल्सले नेपाल टी–२० लिगमा सुखद सुरुआत गरेको छ ।  

जनकपुरले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आइतबार सम्पन्न दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई पाँच विकेटले पराजित गरेको हो ।

पोखराले प्रस्तुत गरेको एक सय ३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.४ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो ।

जनकपुरका लागि  सन्दीप जोराले ३० बलमा तीन छक्का र दुई चौका मद्दतमा अविजित रहँदै सर्वाधिक ४० रनको योगदान दिए । यसैगरी सागर पुनले ३८ र चाडविक वाल्टनले १९ रन जोडे ।

पोखराका लागि जाहिर खानले तीन तथा कप्तान शरद भेषवाकर र मौसम ढकालले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १९.४ ओभरमा सबै विकेट गुमाउँदै  एक सय ३८ रनको योगफल तयार पारेको थियो ।

पोखराका लागि आसिफ शेखले ३९ बलमा चार चौका र दुई छक्का मद्दतमा सर्वाधिक ५० रनको योगदान दिए । त्यस्तै,सिद्धान्त लोहनीले २९,प्रतिश जिसीले २८ तथा अमिर हम्जाले १८ रन जोडे ।  

जनकपुरका लागि केस्रिक विलियम्सले तीन,पवन सरार्फ,सेराफुद्दिन असरर्फ र ललितनाराण राजवंशीले समान दुई  तथा सोमपाल कामीले एक विकेट लिए ।


यस जितसँगै जनकपुरले दुई अंक जोडेदा पोखराले लगातार दोस्रो हार ब्यहोरेको छ । यसअघि  पोखरा प्रतियोगिताको उद्घाटन खेलमा शनिबार काठमाडौं नाइट्ससँग  २६ रनले पराजित भएको थियो ।

यसैगरी आइतबार सम्पन्न पहिलो खेलमा लुम्बिनी अलस्टार्सले विराटनगर सुपर किङ्समाथि तीन रनको रोमाञ्चक जित निकालेको थियो ।