इङ्ल्यान्ड क्रिकेट

क्रिकेटलाई धर्म मान्ने परिवारका साम

मेलबर्न । ‘यो सफलतालाई वर्णन गर्ने शब्द नै मसँग छैन । यो मेरा लागि मात्र नभई इङ्ल्यान्डकै लागि विशेष क्षण हो । मेरा लागि यो पहिलो विश्वकप थियो र हामी त्यो जित्न सफल भएका छौ,ट्वान्टी–२० विश्वकप जितेपछि इङ्ल्यान्डका साम कुरानले भनेका थिए ।

इङ्ल्यान्डले आइतबार पाकिस्तानलाई निराश पार्दै दोस्रो पटक ट्वान्टी–२० विश्वकपको उपाधि जित्दा साम त्यसको नायक हुन् । उनले डेथ ओभरमा गरेको अनुशासित बलिङले इङ्ल्यान्डको जितको आधार खडा भएको थियो । अस्ट्रेलियामा इङ्ल्यान्डले जितेका दुई खेलमा कुरानको बलिङमा जादु नै रह्यो । त्यसैले उनले विश्वकपभर कुल १३ विकेट लिए । सुपर १२ को पहिलो खेलमा अफगानिस्तानलाई १ सय १२ रनमा सीमित पार्ने क्रममा कुरानले ३.४ ओभरमा १० रन खर्चंदै ५ विकेट लिए ।

पाकिस्तानविरुद्ध फाइनलमा पनि कुरानले ४ ओभरमा १२ रन खर्चंदै तीन विकेट लिए । समग्रमा यो विश्वकप कुरानका लागि यादगार नै रह्यो ।

 ‘म विश्वकपमा आफ्नो स्वाभाविक लय कायम रहोस् भन्ने चाहन्थें र त्यस्तै भयो पनि । मैले यसअघि अन्तिम ओभरतिर बलिङ गरेको थिइनँ । तर त्यो जिम्मेवारी पूरा गर्दै त्यसमा सुधार गर्न भनेसधैं तयार थिएँ,’कुरानले भने । 

कुरान यस्तो परिवारबाट आएका छन्, जहाँ क्रिकेटलाई नै धर्म मान्छन् भन्दा पनि फरक पर्दैन । उनका बुबा केभिन सन् १९८० को दशकमा जिम्बाब्वेका अलराउन्डर थिए । 
केभिनले नर्थहम्पटन र ग्लुकोस्टरसाइनबाट इङ्लिस काउन्टी क्रिकेट खेल्थे । केभिनले जिम्बाब्वेको प्रशिक्षणसमेत सम्हाले । कुरानका हजुरबुबा केभिन पी कुरानले सन् १९४० देखि ५० सम्म जिम्बाब्वेबाट खेलेका थिए । त्यति बेला जिम्बाब्वे रोडेसियाको नामबाट चिनिन्थ्यो । कुरानका दाइ टम र बेन पनि क्रिकेटमै छन् । टमले इङ्ल्यान्डबाट तीनै संरचनाको खेल खेलिसकेका छन् भने बेनले सन् २०१८ मा नर्थहम्पटनबाट पहिलो श्रेणीको खेल खेलेका थिए । कुरानलाई एउटा कुराले अझै दुख लाग्छ । 

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पाएको सफलता उनका बुबा केभिनले देख्न पाएनन् । केभिनको सन् २०१२ मा दैनिक व्यायामको क्रममा ५३ वर्षको उमेरमा निधन भएको थियो । साम कुरान अब बेन स्टोक्सजस्तै अलराउन्डर बन्दै आफ्नो बुबाको सपना पूरा गर्न चाहन्छन् । टेस्ट क्रिकेटमा ७८ उनको सर्वाधिक रन हो भने एकदिवसीयमा अविजित ९५ रन उनको उच्च स्कोर हो ।

 ‘म मेरो ब्याटिङमा सुधार गर्न चाहन्छु,’ कुरानले भने, ‘म स्टोक्सजस्तै अब्बल अलराउन्डर बन्न चाहन्छु । स्टोक्स मेरा लागि आइडल हुन् ।’ 

मेलबर्न क्रिकेट मैदानमा सम्पन्न फाइनलमा कुरानले मोहम्मद रिजवान र सान मन्सुदको महत्वपूर्ण विकेट लिएका थिए । उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भए । सन् २०१६ मा भारतमा सम्पन्न ट्वान्टी–२० विश्वकपको उपाधिनजिक पुगे पनि वेस्ट इन्डिजका कार्लोस ब्राथवेट बेन स्टोक्समाथि हाबी हुँदा इङ्ल्यान्ड उपविजेतामा सीमित भएको थियो । सो खेल कुरानले टिभीमा हेरेका थिए ।