यु १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

यु १९ पुरुष क्रिकेट बुधबारबाट

काठमाडौं । यु १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता बुधबारबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सात टोलीको टुंगो लगाउँदै मंसिर सात गतेबाट सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने खेलमा विभागीय टोलीको सहभागी हुने छैन । सात प्रदेशले मात्रै सहभागीता जनाएका छन् । क्यानका अनुसार प्रतियोगिता सात गतेदेखि १९ मंसिरसम्म हुनेछ ।

प्रतियोगिताको उद्घाटन र समापन त्रिवि मैदानमा हुनेछ । सात गते हुने उद्घाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी दोस्रो दिन सुदूरपश्चिम र कर्णाली प्रदेश तथा गण्डकी र प्रदेश एकबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको लागि चौधरी ग्रुप मुख्य प्रायोजक रहेको छ । गत वर्ष लुम्बिनीले अन्तिम खेलमा सुदूरपश्चिमलाई एक सय १३ रनले पराजित गर्दै शीर्षस्थानमा रहेर उपाधि हात पारेको थियो ।