प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

गण्डकीको लगातार दोस्रो जित

काठमाडौं । अभिषेक बस्नेतको अर्धसतक प्रेरित गण्डकी प्रदेशले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

बुधबार कीर्तिपुर स्थित त्रिवि मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्याे ।

दुई सय ९ रनको लक्ष्य पछ्याएको कर्णाली ४७ ओभरमा सबै विकेट गुमाउदै एक सय ७६ रनमा सीमित भएको थियो ।

कर्णालीका हिमान्सु शाहीले अर्धसतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् । एक सय १६ बल सामना गर्दै आठ चौका प्रहार गरेका हिमान्सुले सर्वाधिक ६९ रन बनाए । कप्तान रविन्द्र शाहीले ४२ रनको योगदान गरे । यस्तै, प्रकाश जैशीले १५रन जोडे । यस बाहेक अन्य खेलाडीले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

गण्डकीका सुवास भण्डारी र चन्द्र पौडेलले तीन/तीन विकेट लिए । यसैगरी विपिन खत्रीले दुई तथा कमल परियार र अभिषेक बस्नेतले एक/एक विकेट झारे ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय आठ रनको योगफल तयार पारेको थियो ।

मध्यम लक्ष्य प्रस्तुत गर्ने क्रममा गण्डकीका लागि प्लेअर अफ दि म्याच अभिषेकले अर्धसतक बनाए । ४५ बल सामना गरेका अभिषेकले आठ चौका र एक छक्का मद्धतमा ५१ रन बनाए ।

त्यस्तै, ८८ बल खेलेका अर्जुन कुमालले चार चौका मद्धतमा ४९ रन बनाए । यस वाहेक विकेटकिपर ब्याटर विधान श्रेष्ठले एक सय चार बल सामना गर्दै ४६ रनको योगदान गरे ।

कर्णालीका अनुज चानरले चार विकेट लिए भने प्रकाश जैशीले तीन तथा दिनेश अधिकारीले दुई विकेट झारे ।

लगातार दोस्रो जितसँगै गण्डकीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समूह ‘ए’मा दुई खेलबाट चार अंक जोडेको गण्डकी तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट चार अंक बटुलेको एपिएफ क्लब नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ । समूहमा कर्णाली, त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिमले अंकको खाता खोल्न सकेका छैनन् ।