ट्वान्टी २० विश्वकप

ट्वान्टी २० विश्वकपः लिकमा फर्कँदै अस्ट्रेलिया

काठमाडौं । कप्तान आरोन फिन्चको अर्धसतक प्रेरणामा सोमबार आयरल्यान्डमाथि ४२ रनको जित हासिल गर्दै अस्ट्रेलियाले धर्मराउँदो विश्वकप यात्रालाई लिकमा फर्काएको छ ।

ब्रिसबेनमा पाएको यो जितसँगै आयोजक अस्ट्रेलियाले ट्वान्टी २० विश्वकपका चार खेलमा पाँच अंक जोड्दै समूह ‘एक’ को दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको न्युजिल्यान्ड समान पाँच अंक लिएर शीर्ष स्थानमा छ । समूहमा अस्ट्रेलियाले अब अफगानिस्तानसँग मात्र खेल्न बाँकी छ ।

टस हारेर पहिला ब्याटिङलाई निम्त्याइएको अस्ट्रेलियाका लागि कप्तान फिन्चले आक्रामक ब्याटिङ गर्ने क्रममा ४४ बलमा तीन छक्का र पाँच चौकासहित ६३ रन बनाएपछि घरेलु टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७९ रन बनायो ।

अस्ट्रेलियाको इनिङमा मार्कुस स्टोइनिसले ३५ तथा मिचेल मार्सले २८ रन जोडे भने टिम डेविडले अविजित १५ तथा ग्लेन म्याक्सवेलले १३ रनको योगदान गरे । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गरेनन् ।

आयरल्यान्डका बेरी म्याककार्थीले तीन तथा जोश लिटलले दुई विकेट लिए ।

जवाफमा पाट कमिन्स, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क र एडम जाम्पाले दुई/दुई विकेट लिएपछि आयरल्यान्डको इनिङ १८.१ ओभरमा एक सय ३७ रनमा खुम्चियो ।

आयरल्यान्डका लागि लोर्कान टक्लरले सर्वाधिक ७१ रनको योगदान गरे पनि त्यो समर्थकलाई सान्त्वनामा सीमित भयो । टक्लरले ४८ बल खेल्दै एक छक्का र ९ चौका प्रहार गरेका थिए ।

भ्रमणकारी टोलीका गारेथ डेलानीले १४ तथा ओपनर पाउल स्टर्लिङ र मार्क एडेरले समान ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

सोमबारका खेल समाप्तीपछि समूह ‘एक’मा तीन खेलबाट पाँच अंक जोडेको न्युजिल्यान्ड शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो तथा इङ्ल्यान्ड तेस्रो स्थानमा छन् । इङल्यान्डले तीन खेलमा तीन अंक जोडेको छ ।

यसैगरी तीन खेलमा तीन अंक जोडेको आयरल्यान्ड चौथो स्थानमा रहँदा समान दुई अंकमा सीमित श्रीलंका र अफगानिस्तान पाँचौं तथा छैटौं स्थानमा छन् । श्रीलंका र अफगानिस्तान प्रतियोगिताबाट औपचारिक रुपमै बाहिरिइसकेका छन् ।