प्रधानमन्त्री कप क्रिकेट

पुलिसको लगातार दोस्रो जित

काठमाडौं । नेपाल पुलिस क्लबले आइतबारबाट सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।

सोमबार पुलिसले मुलपानी क्रिकेट मैदानमा प्रदेश एकको चुनौती सात विकेटले पन्छायो । आइतबार पहिलो दिन बागमती प्रदेशमाथि जित हासिल गरेको पुलिस दुई खेलमा चार अंक जोड्दै समूह ‘बी’को शीर्ष स्थानमा छ । समूहमा बागमती र प्रदेश एकले अंकको खाता खोल्न सकेका छैनन् ।

ललित राजवंशीले पाँच तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिएपछि पुलिसले टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश एकलाई ३५.१ ओभरमा एक सय दुई रनमा रोकेको थियो ।

जवाफमा कुशल भुर्तेलले ४२ तथा शंकर रानाले २९ रन जोडेपछि विभागीय टोलीले एक सय तीन रनको लक्ष्य १४ ओभरमै तीन विकेट गुमाउँदा एक सय पाँच रन बनाएर पूरा गर्यो ।

सोमबारै समूह ‘ए’मा गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ । अर्जुन कुमालको अर्धसतक प्रेरित गण्डकीले आफ्नो पहिलो खेलमा सोमबार सुदूरपश्चिम प्रदेशमाथि ६९ रनको फराकिलो जित दर्ता गरायो ।

टस जितेर पहिला ब्याटिङ गरेको गण्डकीका लागि अर्जुनले एक सय पाँच बलमा १० चौका प्रहार गरे । कीर्तिपुर क्रिकेट मैदानमा गण्डकीका लागि अर्जुनका ओपनिङ पार्टनर समिर कँडेलले २६ रन जोडे भने विधान श्रेष्ठ र अभिषेक बश्नेतले समान २५ रनको योगदान गरे ।

यसैगरी सन्दीप क्षेत्रीले १९ तथा कप्तान विपिन खत्री र कमल परियारले समान १३ रन जोडेपछि गण्डकीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय आठ रनको योगफल तयार गरेको थियो ।

जवाफमा दुई सय ९ रनको लक्ष्य लिएर ब्याटिङ गर्न आएको सुदूरपश्चिम ३२.४ ओभरमा एक सय ३९ रनमा सीमित भयो ।

गण्डकीका कप्तान विपिन एक्लैले चार विकेट लिए भने सुवाश भण्डारी र अभिषेक बश्नेतले दुई/दूई तथा कमल परियार र अमृत गुरुङले एक/एक विकेटमा नाम लेखाए ।

सुदूरपश्चिमका मिलन बोहराले ६४ बलमा एक छक्का र तीन चौकासहित ५१ रन बनाए पनि टोलीलाई जितको बाटोमा डोर्याउन सकेनन् । सुदूर पश्चिमका लागि ओपनर गजेन्द्र बोहराले ३५ र वसन्त कार्कीले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।