क्रिकेट

महिला क्रिकेट: गण्डकी बाहिरियो

पोखरा । नवौँ राष्टिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटबाट घरेलु टोली गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीले लिग चरणका कुनै पनि खेलमा उल्लेखनीय प्रदर्शन गर्न सकेन । शनिबार भएको अन्तिम खेलमा बागमती प्रदेशसँग ३० रनले पराजित भएसंगै गण्डकीले विना जित नवौंको यात्राबाट बिट मारेको हो ।

खेलमा पहिला व्याटिङ गरेको बागमतीले २० ओभरमा ८८ रनको योगफल तयार पारेको थियो । प्रत्युत्तरमा गण्डकीको पारी मात्रै ५८ रनमा समेटियो । १९.१ ओभरमा गण्डकीको सम्पूर्ण विकेट झरेको थियो । बागमतीको व्याटिङमा प्लेयर अफ द म्याच सोनी पाख्रिनले २१ रन बनाइन् ।

यसअघिको खेलमा सशस्त्र प्रहरीको एपीएफले मधेश प्रदेशलाई २७ रनले पराजित गरेको थियो । पहिला व्याटिङ गरेको एपीएफले ७ विकेटको क्षतिमा १ सय १ रन बनाएको थियो । मधेशका खेलाडीले पुरै २० ओभर खेलेपनि ७ विकेट गुमाउँदै ७४ रनमात्रै बनाउन सके ।

एपीएफको जितमा नेरी थापाले आफ्नों स्पेलमा ६ रन खर्चिएर ३ विकेट लिएकी थिइन् । एपीएफको व्याटिङमा ममता चौधरीले १७ तथा राजमति ऐरीले १६ रन जोडिन् । मधेशका लागि सरस्वती कुमारी र कविता गौतमले समान १३ रन बनाएका थिए ।