नवौं राष्ट्रिय खेलकुद

वर्षाको कारण सुदूरपश्चिम र एनआरएनएबीचको खेलमा ढिलाई

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि हुने भनिएको खेल वर्षाको कारण तोकिएको समयभन्दा ढिलो हुने भएको छ ।

कीर्तिपुरस्थित त्रिविको मैदानमा सुदूरपश्चिम प्रदेश र एनआरएनए स्पोर्टस् एकेडेमी बीच तेस्रो स्थानका लागि खेल हुने तालिका थियो । सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्ने निर्णय गरिसकेको थियो ।

वर्षाको कारण त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा जारी प्रतियोगितामा मुलपानीमा गराउने तय भएको ११ खेल टससमेत नभइ खेल रद्द भएको थियो ।

प्रतियोगितामा सहभागी ११ टिममध्ये (बागमती प्रदेश, गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लब) तीन क्लबले चार खेलमा एक खेल पनि खेल्न नपाइ बाहिरिएको साथै अन्य प्रदेश तथा विभागीय टोलीले समेत पुरै खेल खेल्नबाट वञ्चित भएका थिए ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेदेखि कार्तिक तीन गतेसम्म गण्डकी प्रदेशमा हुने तालिका रहे पनि सोही समयमा नेपाल टी २० लिग हुने भएपछि पुरुष क्रिकेटलाई अघि सारिएको थियो । तर हालै मात्र गृहमन्त्रालयले सो समयमा सुरक्षा उपलब्ध गराउन नसक्ने बताएपछि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी २० दुई महिना पछिका लागि सारिसकेको छ ।