नवौं राष्ट्रिय खेलकुद

कर्णालीले गण्डकीलाई हरायो

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा बुधबार कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई आठ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित १३ ओभरमा ९ विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो । वर्षाले प्रभावित खेललाई २० ओभरबाट १३ ओभरमा घटाइएको थियो ।

गण्डकीका सन्दीप क्षेत्रीले सर्वाधिक ४९ रन बनाए पनि टिमको हार टार्न सकेनन् । यस्तै, अनिल गुरुङले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीका दीनेश अधिकारीले तीन विकेट लिए । यसबाहेक, प्रकाश जैसी र अनुज चुनाराले समान दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित १३ ओभरमा सात विकेट गुमाएर ९३ रनको योगफल खडा गरेको थियो ।

गण्डकीका प्रकाश जैसीले सर्वाधिक १९ रन बनाए । विपिन रावत र सुवास एयरले समान १३ रन थप्ता, सुमित बुढाथोकी र दीनेश अधिकारीले १२–१२ रन बनाए ।

प्रतियोगितामा समूह ‘ए’ मा रहेको कर्णालीले समूह चरणका सबै पाँच खेल खेल्दा ६ अंक जोडेको छ । यस्तै, समान खेल खेलेको गण्डकीले चार अंक जोडेको छ ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेदेखि कार्तिक तीन गतेसम्म गण्डकी प्रदेशमा हुने तालिका रहे पनि सोही समयमा नेपाल टी २० लिग हुने भएपछि पुरुष क्रिकेटलाई अघि सारिएको हो ।