एसिया कप क्रिकेट

एसिया कप: श्रीलंकाले पाकिस्तानलाई हरायो

दुबई । एसिसी एसिया कप क्रिकेट २०२२ को सुपर फोरमा श्रीलंकाले शतप्रतिसत जित निकालेको छ । सुपर फोरको अन्तिम खेलमा श्रीलंकाले शुक्रबार पाकिस्तानलाई पाँच विकेटले पराजित गर्यो । पाकिस्तान र श्रीलंका दुवैले एक खेल अगावै फाइनलको टिकट काटिसकेको थिए ।

संयुक्त अरब इमिरेट्स (युएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा पाकिस्तानले दिएको एक सय २२ रनको लक्ष्य श्रीलंकाले १७ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंकाको जितमा ओपनर पथुम निशाकाले सर्वाधिक ५५ रन बनाए । निशाकाले ४८ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । यस्तै, टिमको खातामा भानुका राजापाक्षेले २४ र कप्तान दसुन सनाकाले २१ रन बनाउँदा वनिन्दु हसरंगा १० रनमा अविजित रहे ।

पाकिस्तानका मुहम्मद हसनैन र ह्यारिस रौफले समान दुई विकेट लिए । उस्मन कादिरले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा निम्त्याइएको पाकिस्तानले १९.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय २१ रनको योगफल खडा गरेको थियो ।

पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ३० रन बनाएका थिए । यसबाहेक, टिमको खातामा मुहम्मद नवाजले २६, मोहम्मद रिजवानले १४ रन जोड्दा फकर जमान र इफ्खिर अहमेदले समान १३ रन जोडे ।

पाकिस्तानलाई सस्तैमा समेट्न श्रीलंकाका वनिन्दु हसरंगाले तीन विकेट लिए । महिस थिक्क्षणा र प्रमोद मदुसनले समान दुई विकेट लिँदा धनञ्जय डी सिल्भार चमिका करुणारत्नेले एक–एक विकेट हात पारे ।

सुपर फोरमा यसअघि श्रीलंका र पाकिस्तान दुवैले भारत र अफगानिस्तालाई हराउँदै उपाधि भिड्न्त पक्का गरेका थिए ।