नेपाली यु २० फुटबल टिम

‘एएफसी यु २० एसियन कपमा छनोट हुने आस’

मनामा । अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु २० एसियन कपको छनोटका लागि नेपाली युवा टिम बहाराइनमा छ । भुटान, बंगलादेश र कतारसँगै समूह ‘बी’मा परेको बहराइनले नेपाललाई प्रतियोगिताको आतिथ्यता प्रदान गरेको हो ।

गत जुलाईमा भारतमा भएको साफ यु २० च्याम्पियनसिपमा फाइनल यात्रा तय गर्न असफल रहेको नेपाली युवा टिम अर्को वर्षका लागि उज्वेकिस्तानको टिकट काट्ने लक्ष्यमा छ । शनिबारदेखि सुरु हुने छनोटको पहिलो खेलमा दक्षिण एसियाली प्रतिस्पर्धी भुटानसँग खेल्नुअघिको पत्रकार सम्मेलनमा बौलदै मुख्य प्रशिक्षक मेघराज केसीले तयारी राम्रो भएको सुनाए ।

‘हामीले तीन महिनादेखि तयारी गरिरहेका छौं । त्यसबीचमा हामीले साफ च्याम्पियनसिप खेल्यौं, त्यसैले एएफसी यु १७ एसिया कपका लागि पनि हाम्रो तयारी राम्रो छ ,’ केसीले भने ।

खुल्ला छनोटबाट तयार पारेको टिम लिएर साफ च्याम्पियनसिप खेल्न भारत पुगेका प्रशिक्षक केसीले बहराइन आएको टिममा ६ परिवर्तन गरेका छन् । साफ च्याम्पियनसिपपछि केही खेलाडी थपेर बन्द प्रशिक्षण सुरु गरेका प्रशिक्षक केसीले उनेश चौधरीको स्थानमा गोलकिपर टोप बहादुर रानालाई स्थान दिएका छन् ।

यस्तै डिफेन्स लाइनमा तीन र मिडफिल्डका दुई खेलाडी परिवर्तन गरेका प्रशिक्षक केसीले स्यान्सु भुसाल, राज थोकर, जान ताम्ली, राकेश विश्वकर्मा र सन्जीव लामालाई समेटेका छन् ।

प्रतियोगिताका लागि बिहीबार मात्रै बहाराइन पुगेको नेपाली टिमले शुक्रबार साँझ मात्रै ट्रेनिङ गरेर पहिलो खेल खेल्दै छ ।

नेपालले तयारीका लागि पाएको तीन महिना पर्याप्त समय हो ? ‘यो पर्याप्त थिएन,’ प्रत्रकारसम्मेलनमा केसीले भने, ‘तर, कोभिडका कारण नेपालमा लामो सयम फुटबल भएन । यो स्तरको प्रतियोगिताका लागि पर्याप्त समय त होइन । तर, हामीसँग अरु विकल्प पनि थिएन ।’

यद्यपि, पाएको सयमको भरपुर सदुपयोग गरेर राम्रो तयारी गरेकाले नेपाल एसियन कपमा छनोटमा हुनेमा प्रशिक्षक आशावादी छन् ।

शनिबार भुटानविरुद्धको खेलको दुई दिनपछि नेपालले सोमबार कतारसँग खेल्ने छ । यस्तै, बुधबार बहराइनसँग र अर्को आइतबार बंगलादेशसँग खेल्ने छ ।