नेपालको केन्या भ्रमण

केन्याविरुद्ध ज्ञानेन्द्रको अर्धशतक!

काठमाडौं । केन्याविरुद्ध जारी ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा नेपालका ओपनर ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका छन् । केन्याको नौरोबीस्थित जिमखाना क्लब मैदानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो ।

नेपालका लागि ओपनिङमा आएका ज्ञानेन्द्रले ४१ बलमा ५ चौका र १ छक्कासहित ५० रन पूरा गरेका हुन् । ज्ञानेन्द्रको यो अर्धशतक केन्या भ्रमणका क्रममा नेपाली खेलाडीले हानेको पहिलो अर्धशतक हो ।

नेपाली टिमका पूर्व कप्तानसमेत रहेका ज्ञानेन्द्रको ट्वान्टी २० करिअरमा भने यो दोस्रो अर्धशतक हो ।

घरेलु टिमविरुद्धको शंखलाअन्तर्गत नेपालले आज खेलिरहेको पाँचौं ट्वान्टी २० हो । यसअघिको नतिजा २–२ छ । आजको खेलमा जित निकाल्ने टिमले शृंखला आफ्नो पक्षमा पार्ने छ ।

१४ ओभरको खेल सकिँदा नेपाल ११९÷२ को अवस्थामा ब्याटिङ गरिरहेको छ । ज्ञानेन्द्र ५९ तथा उपकप्तान रोहित पौडेल ८ रन बनाएर खेलिरहेका छन् , दीपेन्द्रसिंह ऐरी २२ तथा अर्जुन साउद २९ रन जोडेर पेभेलियन फर्किसकेका छन् ।