नेपाल टी २०

बेटिङ पृष्ठभूमीको कम्पनीलाई नेपाल टी-२० लिगको अधिकार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० लिग आयोजनाको अधिकार दिएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स बेटिङ पृष्ठभूमी बोकेको कम्पनी भएको देखिएको छ । 

सेमेभ थ्री स्पोर्ट्सले आफ्नो आधिकारिक वेबसाइटमा इन्डियन प्रिमियर लिग (आइपिएल), फिफा विश्वकप, फ्रेन्च ओपन र बंगलादेश प्रिमियर लिगको प्रशारण अधिकारको क्षेत्रमा काम गरेको दाबी गरेको छ  । तर, त्यसको विस्तृत जानकारी भेटिँदैन । जबकी, कम्पनीहरूको परिचय दिने एउटा कम्पनी फाल्कोन इबिजले जनाए अनुसार सेभेन थ्री स्पोर्टस ग्याम्बलिङ र बेटिङ जस्ता कामहरू गर्ने कम्पनी हो ।

सपना आलुवालिया र जटिन आलुवालिया निर्देशक रहेको सो कम्पनी भारतमा दर्ता छ । कम्पनीको अधिकृत पुँजी एक करोड भारु र चालु पुंजी ३७ लाख भारु रहको जनाइएको छ ।

नेपालमा 'ग्याम्बलिङ र बेटिङ' पूर्णरुपमा प्रतिवन्धित छ । तर, सेभेन थ्री स्पोर्ट्स ग्याम्बलिङ र बेटिङकै पृष्ठभूमी बोकेको कम्पनीलाई नेपाल क्रिकेट संघ (क्यान)ले आठ वर्षका लागि संघको आधिकारिक प्रतियोगिता नेपाल टी २० लिग गर्ने अधिकार दिएको छ ।

यसअघि नै विवादित भई रद्द भइसकेको उक्त सम्झौतालाई कैलालीको धनगढीमा गत फागुनमा सम्पन्न क्यानको साधारण सभाले पुन ब्युँताएको थियो ।

क्यानले जनाए अनुसार सेभेन थ्री स्पोर्टसले टोली निर्माण, प्रायोजक खोज्ने, टेलिभिजन प्रसारण अधिकार, विदेशी खेलाडी अनुबन्ध गर्ने जस्ता सबै खाले अधिकार दिइएको छ ।

यसबापत उक्त कम्पनीले क्यानलाई हरेक वर्ष ३ करोड ९० लाख रुपैंया प्रदान गर्नेछ । विवादास्पद अमुक कम्पनीलाई सम्पूर्ण अधिकार सुम्पिंदा नेपालमा म्याच फिक्सिङ हुने खतरा बढ्ने र यसले क्रिकेटलाई नराम्ररी बदनाम गराउने चिन्ता व्यक्त भएका छन् ।

स्विकृती र रद्द

सेभेन थ्री स्पोर्टस यसअघि पनि विवादमा आइसकेको कम्पनी हो । 

आफ्नै आधिकारिक लिग गर्न कम्मर कसेको चतुरबहादुर चन्द नेतृत्वको संघले सबैभन्दा पहिले २०७७ मंसिरमा नेपाल टी-२० लिग आयोजना गर्ने जिम्मा १० वर्षका लागि सेभेन थ्री स्पोर्टसलाई दिने प्रस्ताव गरेको थियो ।

त्यतिबेलाको प्रस्तावित सम्झौता अनुसार सेभेन थ्री स्पोर्टसले चरणवद्ध रुपमा क्रिकेट संघलाई करिव ४२ करोड रुपैंया दिने भनिएको थियो ।

तर बिना प्रतिस्पर्धा र बिना जानकारी एक्कासी क्रिकेटमा खासै इतिहास नबोकेको अमूक कम्पनीलाई ठूलो रकमको महत्वपूर्ण जिम्मेवारी दिएपछि विषय विवादित बन्न पुग्यो ।

थोरै पूंजी रहेको अमुक कम्पनीलाई करौडौं रकममा विश्वास गर्नु र हालसम्म एउटा पनि ठूला प्रतियोगिता नगराएको भारतीय कम्पनीलाई नेपाल टी-२० लिगको सम्पूर्ण अधिकार दिनु जोखिमपूर्ण हुने भन्दै क्यान भित्र र बाहिर पनि यसको विरोध भएको थियो ।

विवादका कारण २०७७ मंसिरमा क्यानको साधारण सभामा उक्त सम्झौता अनुमोदन हुन सकेन ।

त्यसपछि क्यानले स्विकृतीको लागि उक्त विषय राष्ट्रिय खेलकुद परिषद (राखेप)मा पठायो । रमेश शिलवाल सदस्य सचिव रहेको तत्कालिन राष्ट्रिय खेलकुद परिषदले पनि शंकास्पद विषय भन्दै क्यानलाई स्विकृती दिएन ।

राखेप, क्रिकेट संघ भित्रकै कतिपय पदाधिकारीहरू र क्रिकेट समर्थकहरूले चिन्ता क्यानको प्रतियोगिता एउटा अमुक कम्पनीलाई दिंदा म्याच फिक्सिङ हुनसक्ने र त्यसले देशको क्रिकेट नै खतरामा पर्ने आशंका गरेका थिए ।

सरकारले पनि सम्झौता कार्यान्वयनका लागि अनुमति नदिएको र सेभेन थ्री स्पोर्ट्सले पनि अनुमति पाउनुपूर्व गर्नुपर्ने कामहरू नगरेको भन्दै क्यानको २०७८ असोजमा बसेको बोर्ड बैठकले उक्त कम्पनीसँगको सम्झौता रद्द गर्न निर्णय गरेको थियो ।

तर धनगढीको साधारण सभाले रद्ध भइसकेको उक्त सम्झौता फेरी ब्युँतायो । यो पाली सम्झौता अवधि १० बाट घटाएर ८ वर्षमा घटाइएको विज्ञप्ती मार्फत जनाइएको छ भने सम्झौता रकम ४२ करोडबाट ३३ करोड रुपैयाँभन्दा बढी भनिएको छ ।

सो निर्णयको विरोध गर्दै क्यानका पाँच सदस्यहरूले 'नोट अफ डिसेन्ट' नै लेखेका छन् ।

अनौठो कुरा के छ भने क्यानले गर्ने भनिएको अहिलेसम्मकै ठूलो फ्रेञ्चाइज प्रतियोगिता बारे विज्ञप्ति मार्फत एक लाइनमात्र सार्वजनिक गरिएको छ । प्रतियोगिता कहिले हुने हो, कुन कुन टिम खेल्ने हो, कस्तो शैलीमा हुने हो ? भन्ने बारे केही उल्लेख गरिएको छैन ।

न त अधिकार प्राप्त कम्पनीको बारेमा नै केही खुलाइएको छ । कति रकममा सम्झौता भएको हो ? त्यो रकम कसरी क्यानले पाउने भन्ने विषयमा समेत केही उल्लेख गरिएको छैन ।

विज्ञप्तीमा राखेपबाट पनि आयोजनाको स्विकृती प्राप्त भइसकेको बताइएको छ। प्राप्त जानकारी अनुसार कुल बहादुर थापा खेलकुद परिषदको निमित्त सदस्य सचिव रहेको बेला क्यानले स्विकृती पाएको थियो ।

त्यस्तै सेभेन थ्री स्पोर्टस् भारतीय फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता आइपीएल र विश्व फुटबल महासंघ फिफा जस्तो ठूलो संस्थामा आवद्ध रहेर काम गरिसकेको पनि जनाइएको छ ।