नेपाली क्रिकेट

जिम्बावेमाथि नेपालको सहज जित

काठमाडौं । तीन खेलको एकदिवसीय शृंखलाअन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा सहज जित निकालेसँगै नेपालले जिम्बावेविरुद्धको शृंखला १–१ को बराबरीमा ल्याएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले पराजित गर्यो । जिम्बावेले दिएको ८८ रनको झिनो लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा ओपनर सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए । सुनिलले ३८ बलमा ६ चौका प्रहार गरे । यस्तै, अविजित रहेका अर्का ओपनर आसिफ शेखले २१ बलमा ६ चौकासहित ३४ रन बनाउदा विनोद भण्डारीले तीन बलमा एक चौकासहित चार रन बनाए ।

जिम्बावेका ब्रान्डन मभुटाले एक विकेट हात पारे ।

यसअघि तिव्र गतिका बलरद्वय करण केसी र सोमपाल कामीले कसिलो बलिङ गरेपछि टस हारेपछि ब्याटिङमा निम्त्याइएको जिम्बावे ‘ए’ ले नेपालसामू ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पहिलो इनिङमा जिम्बावे ‘ए’ ३१.५ ओभरमा ८७ रनमै समेटिएको थियो ।

जिम्बवेका तीन ब्याटरले मात्र दोहोरो अंकमा रन जोडेका थिए । जिम्बाब्वेका ओपनर सेफास झुवाओले १० रन बनाउदा जोनाथन क्याम्पबेलले टोलीको खातामा सर्वाधिक २७ रन थपे । यस्तै, अन्तिमसम्म अविजित रहेका ब्राड एभिन्सले २० रन बनाएका थिए ।

जिम्बावेलाई सस्तैमा समेट्न नेपालका करण र सोमपालले समान तीन विकेट लिएका थिए । समान सात ओभर बलिङ गरेका करणले तीन मेडन राख्दै १६ रन खर्चिदा सातै ओभर बलिङ गरेका सोमपालले १६ रन नै खर्चिए ।

यसबाहेक, कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा सागर ढकालले एक विकेट हात पारे ।

यसअघि शुक्रबार भएको शृंखलाअन्तर्गतको पहिलो एकदिवसीय खेलमा नेपाल तीन विकेटले पराजित भएको थियो ।

शृंखलाको अन्तिम खेल सोमबार हुनेछ । नेपालले पहिलो पटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध क्रिकेट शृंखला खेलेको हो ।

एकदिवसीय शृंखलाअघि नेपालले तीन खेलको ट्वान्टी २० शृंखला खेलेको थियो । उक्त शृंखला १–१ को बराबरीम टुङ्गिएको थियो ।