नेपाली क्रिकेट

जिम्बावे ‘ए’ सामू नेपालको १३७ रनको लक्ष्य

काठमाडौं । एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ सामू नेपालले एक सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर एक सय ३६ रनको योगफल खडा गर्यो ।

नेपालको ब्याटिङमा सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । ७० बल खेलेका सोमपालले दुई चौका र एक छक्का प्रहार गरे । यस्तै, करण केसीले २५ रन बनाउँदा कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

नेपालले स्कोरबोर्डमा २२ रन जोड्दा पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । यस्तै, ३२ रनमा अर्का ओपनर आसिफ शेखलाई गुमाएको नेपालले स्कोरबोर्डमा ३३ रन जोड्दा तेस्रो विकेटका रुपमा आरिफ शेखलाई गुमाएको थियो ।

जिम्बावेविरुद्ध कुनै पनि समय राम्रो साझेदारी बनाउन नसकेको नेपालले ४७ रन जोड्दा चौथो विकेटको रुपमा रोहित पौडेललाई, ५६ रनमा पाँचौ विकेटको रुपमा दीपेन्द्रलाई, ७१ रन जोड्दा छैटौं विकेटको रुपमा आदिल आलमलाई, ८४ रन जोड्दा सातौं विकेटको रुपमा सुसन भारीलाई, एक सय २१ रन जोड्दा आठौं विकेटको रुपमा सोमपाल कामीलाई, एक सय ३४ रन जोड्दा नवौ विकेटको रुपमा करण केसीलाई र एक सय ३६ रनमा १०औं विकेटको रुपमा कप्तान सन्दीप लामिछानेलाई गुमाएको थियो ।

नेपाललाई सस्तैमा समेट्न जिम्बावेका ब्राड एभान्सले सर्वाधिक चार विकेट लिए । ८.३ ओभर बलिङ गरेका एभान्सले २७ रन खर्चिए । यसबाहेक, भिक्टर न्युची, ब्रान्डन मभुटा र सेफास झुवाओले समान दुई विकेट लिए ।

नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ विरुद्ध तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । यसअघि भएको तीन खेलकै ट्वान्टी २० शृंखला १–१ को बराबरीमा टुङ्गिएको थियो ।