एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग

एपिएफको लगातार तेस्रो जित, डायमन्ड स्तब्ध

फाइल फाेटाे

काठमाडौं । साविक विजेता न्यु डायमन्डलाई सोझो सेटमा हराउँदै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शुक्रबार एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा तेस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा सम्पन्न महिलातर्फको खेलमा एपिएफले डायमन्डलाई २५–१९, २५–१०, २५–९ को सेटमा हरायो । डायमन्डको यो लगातार चौंथो हार हो ।

प्रतियोगितामा चार खेल खेलेको एपिएफले एक हार र तीन खेलमा जित निकाल्दै ९ अंक जोडेको छ ।

यता, समान खेल खेलेको डायमन्डले यो हारसँगै उपाधि रक्षा गर्ने अवसर गुमाएको छ । डायमन्डले मात्र एक अंक बनाएको छ ।

पाँच टिमको सहभागिता भएको प्रतियोगितामा एपिएफसँगै नेपाल पुलिस क्लबले पनि समान ९ अंक नै जोडेको छ । त्रिभुवन आर्मीको तीन खेलबाट ६ अंक छ ।

महिलातर्फको अन्तिम खेलमा शनिबार आर्मी र पुलिस प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबैभन्दा बढी अंक ल्याउने टिमले उपाधि जित्ने आयोजक नेपाल भलिबल संघले जानकारी दिएको छ ।