आफ्नो उत्कृष्ट दिन्छु: गुलशन झा

काठमाडौं । पहिलो पटक नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका बलर गुलशन झाले ओमानमा उत्कृष्ट प्रदर्शन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । त्रिवि क्रिकेट मैदानमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै गुलशनले ओमानमा आफ्नो उत्कृष्ट प्रदर्शन दिने बताएका हुन् ।

नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानमा घरेलु टिम र अमेरिकासँग भदौ २८ देखि असोज ४ सम्म त्रिकोणात्मक एकदिवसीय श्रृंखला खेल्दैछ । सोही श्रृंखलाका लागि गुलशन पहिलो पटक राष्ट्रिय टिममा समावेश भएका हुन् ।

‘ट्रेनिङ राम्रो भइरहेको छ । आफ्नो टिमलाई आफ्नो उत्कृष्ट प्रदर्शन गरेर देखाउने सोचेको छु । यहाँ जे सिकेको छु त्यो देखाउने छु,’ गुलशनले भने । नेपाल पुलिस क्लबबाट गुलशनले मेयर्स कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यसै प्रदर्शनका कारण उनले टिमको बन्द प्रशिक्षणमा पहिलो पटक स्थान बनाएका थिए ।

गुलशनले पहिलो पटक राष्ट्रिय टिममा पर्दा धेरै खुशी लागेको बताए । ‘अहिले नै राष्ट्रिय टिममा पर्ने सोचेको थिएन । तर, म तयारी गरिरहेको थिए कुनै बेला मौका आउछ भनेर । ओमान जाने टोलीमा आफ्नो नाम देखेर धेरै खुशी लागेको थियो,’ उनले भने ।

‘क्याम्प आएपछि धेरै कुरा सिक्न पाएको छु । ब्याटिङ, बलिङ र अनुशासनमा धेरै कुरा सिकेको छु । प्रशिक्षकले धेरै सपोर्ट गर्नु भएको छ । गल्ति भयो भने सिकाउनु हुन्छ,’ गुशलन भन्छन्, ‘बन्द प्रशिक्षणमा प्रशिक्षक डेभ वाटमोरले धेरै कुरामा सहयोग गर्नु भएको छ ।’
 
ओमान र अमेरिकाविरुद्धको श्रृंखलाअघि नेपालले पपुवा न्युगिनीसँग सेप्टेम्बर ५ र ८ मा दुई एकदिवसीय खेल खेल्दैछ ।