नेपाल प्रो– क्लब ट्वान्टी २० च्याम्पियनसिप

रुपन्देही ११ र पुश स्पोर्टस् विजयी

भैरहवा । अस्ट्रेलियन क्रिकेटर शेर्न वार्नको स्मृतीमा आयोजित नेपाल प्रो– क्लब ट्वान्टी २० च्याम्पियनसिपमा शुक्रबार रुपन्देही ११ र भारतीय टोली पुश स्पोर्टस् क्लब विजयी भएको छ ।

भैरहवाको सिदार्थनगरमा सम्पन्न पहिलो खेलमा रुपन्देही ११ ले मलेसिया ११ लाई ६ विकेटले पराजित गर्दा दोस्रो खेलमा भारतीय टोली पुश स्पोर्टस्ले नेपाल पुलिस क्लबमाथि एक रनको झिनो जित निकाल्यो ।

पहिलो खेलमा टस जितेर ब्याटिङमा आएको मलेसिया ११ ले दिएको एक सय ३२ रनको लक्ष्य रुपन्देहीले १९.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

रुपन्देहीको जितमा ओपनर प्रज्वल थापाले सर्वाधिक ३८ रन बनाए । यसबाहेक, टोलीको खातामा बसिर अहमदले २७, सन्दीप रजालीले २४ र देव खनालले २२ रन जोडे ।

त्यसअघि ओपनर विरन्दीप सिंहले ६६ रनको अर्धशतकीय इनिङ खेलेपछि मलेसिया ११ ले १९.५ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ३१ रनको योगफल तयार गरेको थियो ।

यस्तै, शुक्रबारको दोस्रो खेलमा पुश स्पोर्टसले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३२ रनमात्र बनाउन सक्यो ।

पुलिसको ब्याटिङमा गुल्सन झाले ३६ रन बनाए पनि टोलीलाई जितसम्म डोहोर्याउन सकेनन् । यस्तै, पवन सर्राफले ३३, प्रेम तामाङले २० र दीलिप नाथले १९ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको पुश स्पोर्टस्का आदित्य जैनले सर्वाधिक ३८ रन बनाएका थिए । यसबाहेक, मयंक गुप्ताले २३ र इशान पाण्डेले २१ जोडेका थिए ।